‘मुलुकको विकास, समृद्धि र स्थायी शान्ति साझा लक्ष्य हो’

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको बताउनु भएको छ ।

सातौँ संविधान दिवसका अवसरमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन मार्फत मुलुकको आर्थिक र सामाजिक रूपान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गर्दे विधिको शासनबाट समृद्धि कायम गरी मुलुकको दिगो विकास गर्नु सबैको साझा सङ्कल्प रहेको भन्दै इमानदारीपूर्वक काम गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन गर्न संवाद, सहमति र सहकार्यबाटै संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाइने पनि बताउनुभयो ।

उहाँले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनु भयो ।

प्रधानमन्त्री देउवाले कोरोना महामारीबाट नेपाली नागरिकको जीवन रक्षा गर्नु मुख्य प्राथमिकता रहेको र चैतभित्र खोप लगाउन योग्य सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना खोप लगाइने सक्ने लक्ष्यमा साथ सरकार अगाडी बढेको जानकारी समेत दिनुभयो ।

संविधान दिवस मुल समारोह समितिद्वारा काठामाडौंको सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सरकारका मन्त्रीहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।


ताजा खबर