भारतीय दूतावासद्वारा ‘आजादीका अमृत महोत्सव’ आयोजना

भारतीय राजदूतावास, काठमाडौंले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म ‘आजादीका अमृत महोत्सव’को कार्यक्रमको रुपमा पाक्षिक हिन्दी कार्यक्रको आयोजना गरेको छ । ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषयक वेबिनारसँगै यस कार्यक्रमको आरम्भ गरिएको हो ।

यस पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ । उक्त वेबिनारमा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो । कार्यक्रममा भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा पनि उपस्थित थिए ।

भारतका हिन्दी भाषा विज्ञ डा. विजय कुमार मलहोत्रा पनि वेबिनारमा सहभागी थिए । त्यस्तै नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा सञ्जित बर्मा र दिग्गज हिन्दी साहित्यकार डा राम दयाल राकेशको पनि सो वेबिनारमा उपस्थिति रहेको थियो ।

वेबिनारका सहभागीहरुले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवद्र्धन गर्न सकिन्छ ? भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरुले यी भाषाहरुको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएको बताए ।

सोही अवसरमा भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा एस जयशंकरले पठाएका सन्देश पनि प्रस्तुत गरिएको थियो । पाक्षिक हिन्दी उत्सव अन्तर्गत दूतावासले २०७८ भदौ २९ देखि असोज १२ गतेसम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्ने जनाएको छ । दूतावासमा कार्यरत भारतीय अधिकारीले “राजभाषा प्रतिज्ञा” लिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवद्र्घन गर्ने प्रतिबद्घता व्यक्त गरे ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।


ताजा खबर