नेपालमा सवारी दुर्घटना : हरेक दिन सात जनाको जान्छ ज्यान, ५ वर्षमा १२ हजारको मृत्यु

सवारी दुर्घटनाका कारण हरेक दिन सात जनाको अकालमा नै ज्यान जाने गरेको तथ्यांकले देखाएको छ । गएको पाँच वर्षमा सवारी दुर्घटनामा परी करिब १२ हजार यात्रुको अकालमा नै मृत्यु भएको तथ्यांकले देखाएको हो । आर्थिक वर्ष २०७१र७२ देखि २०७५र७६ सम्मको दुर्घटनाको तथ्यांक हेर्दा हरेक वर्ष २ हजारभन्दा बढी यात्रुको सवारी दुर्घटनाकै कारण अकालमा ज्यान गएको र सो संख्या ५ वर्षमा करिब १२ हजार पुगेको पाइएको हो ।

जसअनुसार आर्थिक वर्ष २०७१र७२ मा २ हजार ४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । यस्तै २०७२÷७३ मा २ हजार ६ जनाले ज्यान गुमाएका छन् भने २०७३÷७४ मा २ हजार ३८४ जनाको सवारी दुर्घटनाका कारण ज्यान गएको छ ।

यसैगरी, आर्थिक वर्ष २०७४र७५ मा २ हजार ५४१ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाएका छन् भने गत आर्थिक वर्षमा मात्रै २ हजार ७८९ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाउनुपरेको छ । ५ वर्षको यस अवधिमा २१ हजार ५ जना गम्भीर घाइते भएका छन् भने ४३ हजार २३७ जना सामान्य घाइते भएका छन् ।

नेपाल प्रहरीले तयार गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका १३ हजार ३६६ सवारी दुर्घटनामध्ये चालकको लापर्बाहीबाट मात्रै ९ हजार ९१९ दुर्घटना भएको छ । यस्तै, तीव्र गतिका कारण गत वर्ष मात्रै २ हजार १७१ दुर्घटना भएका छन् भने मादक पदार्थ सेवनबाट ४१६ दुर्घटना भएका छन् ।

गत आइतबार सिन्धुपाल्चोकको सुकुटेमा १९ जनाको ज्यान जानेगरी भएको दुर्घटनामा समेत चालकको लापर्बाही नै पहिलो कारण देखिएको छ । सो दुर्घटनामा क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाएका कारण भएको प्रहरीले भनेको छ ।

रासस


ताजा खबर