पहिलो पटक नेपाल भित्रियो भारतीय निजी कार्गो रेल

नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गाे रेल (र्याक) भित्रिएको छ । ९० वटा कन्टेनरसहितको उक्त कार्गो रेल बुधबार बिहान १०ः१५ बजे वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह प्रवेश गरेको हो ।

भारतलाई आधार बनाएर विभिन्न देशमा कार्गाे रेल सेवा सञ्चालन गरिरहेको हिन्द टर्मिनल्सको उक्त रेलको एक औपचारिक कार्यक्रमबीच सुक्खा बन्दरगाहमा स्वागत गरियो ।

यसअघि भारत सरकारको स्वामित्व रहेका भारतीय रेल–वे कम्पनी र कन्टेनर कर्पाेरेसन लिमिटेड (कनकोर)ले मात्र नेपालमा कार्गो रेल सेवा उपलब्ध गराउँदै आएका थिए । नेपाल–भारतबीच गत असार २५ गते भएको रेल सेवा सम्झौताको संशोधित व्यवस्थाअनुसार भारतबाट निजी क्षेत्रको कार्गो रेलले प्रवेश पाएको हो ।

संशोधित व्यवस्थाअनुसार भारतका निजी रेल सेवा प्रदायकहरूले नेपालका लागि रेलबाट हुने ढुवानी सेवा दिन सक्ने उल्लेख छ । सोही व्यवस्थाअनुसार भारतको हल्दिया बन्दरगाहबाट ३५ घन्टाको यात्रा तय गर्दै हिन्द टर्मिनल्सको कार्गाे रेल वीरगञ्जस्थित सुक्खा बन्दरगाह भित्रिएको हो ।

निजी क्षेत्रको समेत कार्गाे रेल ढुवानी सेवाको सुरुवातले नेपालको व्यापार प्रक्रियामा थप सहजीकरण हुने इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो । “निजी कार्गो सेवासमेतको सेवाले प्रतिस्पर्धा बढ्दा त्यसको लाभ नेपाली व्यवसायीले पाउनेछन्,” उहाँले भन्नुभयो । निजी क्षेत्रको प्रवेशले कार्गो ढुवानीमा अहिलेसम्मको एकाधिकार अन्त्य गर्दै सम्पूर्ण व्यापार प्रक्रियाको समय तथा लागत घटाउने तहसम्मको प्रभाव पार्ने उहाँले बताउनुभयो ।

कार्गो रेल सेवा प्रदान गर्ने हिन्द टर्मिनल्सका महाप्रबन्धक अभिनव गुप्ताले नेपालका तर्फबाट माग बढेमा भविष्यमा व्यापार लागत घट्ने बताउनुभयो । “हाम्रा लागि नेपालमा सेवा दिन पाउनु ठूलो अवसर हो,” उहाँले भन्नुभयो, “नेपाली व्यवसायीलाई उत्कृष्ट सेवाको अनुभव गराउने हाम्रो प्रयत्न हुनेछ । ”

सम्झौतामा भएको व्यवस्थाअनुसार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको प्रिस्टिन भ्याली ड्राइपोर्टले समेत कार्गाे रेल सञ्चालन गर्ने तयारी गरेको समितिले जनाएको छ । यसबाहेक समितिले विराटनगरमा पनि निजी क्षेत्रको कार्गाे रेल सञ्चालनको योजना बनाएको छ । केही पूर्वाधार तयार गरेपछि त्यहाँबाट पनि निजी क्षेत्रलाई प्रवेशको ढोका खुल्ने समितिका कार्यकारी निर्देशक गजुरेलले बताउनुभयो । –रासस


ताजा खबर