१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उहाँका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।

गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मीको प्रजिअमा पठाइएको छ । गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ लगिएको छ भने मोरङका प्रजिअ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ । गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नुरहरि खतिवडालाई सङ्खुवासभाको प्रजिअमा पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ टेकनारायण पौडेललार्ई गृह मन्त्रालयमा ल्याइएको छ । गृहका सहसचिव टेकराज निरौलालाई दोलखा पठाइएको छ भने दोलखाका प्रजिअ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ । रुपन्देहीका आस्मान तामाङलाई चितवनको प्रजिअमा खटाइएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको प्रजिअ बनाइएको छ । मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रुपन्देही पठाइएको छ ।


ताजा खबर