गुणस्तरीय शिक्षाको पहुँच सबैको आवश्यकता : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाको पहुँच सबैको आवश्यकता भएको बताउनुभएको छ । लगनखेलस्थित नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपालको संविधानअनुसार विद्यालय शिक्षा पालिकाको जिम्मेवारीमा रहेको चर्चा गर्दै भन्नुभयो, “सङ्घीय सरकारले पनि विद्यालय शिक्षालाई सहयोग गरिरहेको छ ।”

प्रधानमन्त्री देउवाद्वारा उद्घाटन भएको विद्यालयको भौतिक सुधारपछि गुणस्तरीय शिक्षामा सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
उहाँले जापान नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने राष्ट्र हो भन्दै जापान सरकारले जाइकामार्फत भौतिक पूर्वाधारदेखि विपतका क्षेत्रमा पनि सहयोग गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसालले जापानी सहयोगबाट प्राप्त आर्थिक सहयोगबाट नेपालका धेरै विद्यालय भवन निर्माण भएको चर्चा गर्नुभयो ।

उहाँले कोभिड–१९ का कारण सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन गर्न नसकेको बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५८३ विद्यालय भवनमध्ये हालसम्म छ हजार ६४७ भवनको निर्माण सम्पन्न भएको बताउनुभयो ।

उहाँले अब १२ प्रतिशत विद्यालय पुनर्निर्माण हुन बाँकी रहेको उल्लेख गर्दै अब बाँकी काम शिक्षा मन्त्रालयमार्फत सम्पन्न गरिने जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भूकम्पपछि महानगरपालिकाभित्रका ४० सामुदायिक विद्यालयमध्ये छ वटाको भवन अत्याधुनिक बनेको बताउँदै निर्माण भएका आधुनिक भवनको संरक्षण र समय समयमा मर्मत कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

जापान सरकारले भूकम्पबाट क्षति भएकामध्ये २७४ वटा विद्यालय भवन निर्माण गर्न सम्झौता गरेकोमा हालसम्म २१९ वटाको निर्माण सम्पन्न भइसकेको छ ।

आज उद्घाटन भएको विद्यालय भवनमा १९ वटा कोठा छन् । विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले ३० वटा कक्षाकोठा आवश्यक पर्नेमा सो अपुग हुँदा नयाँ विद्यालय निर्माण भए पनि अझै टहरामा अध्यापन गर्नुपर्ने अवस्था देखिएको बताउनुभयो ।

नयाँ भवन ३३ महिनामा निर्माण सम्पन्न भएको हो । जापान सरकारको १२ करोड ३० लाख रुपियाँमा निर्माण भएको सो भवनमा दृष्टिविहीन विद्यार्थीका लागि आवासीय सुविधा पनि छ । -रासस


ताजा खबर