घरमा लगिएको उत्तरपुस्तिकामा लेखेर त्रिविको परीक्षा पास : पनिकाका लेखा अधिकृत कमल दाहाल कार्यकक्ष सर्दा खुल्यो पोल

परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास

त्रिभुवन विश्वविद्यालयले परीक्षा दिइसकेका विद्यार्थीसँग घुस लिएर उत्तरपुस्तिका साट्ने गरेको खुलेको छ । परीक्षा सकिएपछि बाहिर लेखिएको उत्तरपुस्तिका साटेर विद्यार्थीलाई पास गराउने गरिएको छ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरी र परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखा अधिकृत कमल दाहालले घुस लिएर उदयपुरका दुई छात्रालाई पास गराएका छन् । यो घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

त्रियुगाकी विद्यार्थी (क)ले शिक्षा संकाय स्नातक दोस्रो वर्षको करिकुलम एन्ड इभ्यालुएसन (३१४) को परीक्षा २० असार ०७५ मा दिइन् । गाईघाटकै बरुवा क्याम्पसकी (ख)ले व्यवस्थापन संकाय स्नातक दोस्रो वर्षको फन्डामेन्टल अफ मार्केटिङ (२१४) को सोही वर्ष १५ साउन  र फन्डामेन्टल अफ ह्युमन रिसोर्स म्यानेजमेन्ट (२१६) को १७ साउनमा परीक्षा दिइन् । दुवैको परीक्षा केन्द्र परेको थियो त्रियुगा क्याम्पस ।

(क) का लागि यो परीक्षा अन्तिम थियो । फेल भए पुनः परीक्षा दिन पाउने अवसर थिएन । (ख) पनि जागिरका लागि जुनकुनै हालतमा पास गर्ने जोडमा थिइन् । तर, कमजोर तयारीका कारण पास हुन सक्ने विश्वास दुवैलाई थिएन । त्यसैले उनीहरूले परीक्षाअघि नै पास हुने ‘सूत्र’ खोजेका थिए । घुस दिन सके पास गराइदिने व्यक्ति पनि भेटाए । उनी थिए परीक्षा केन्द्र रहेको त्रियुगा क्याम्पसकै प्रशासन सहायक तेजनारायण चौधरी । चौधरीको ‘सेटिङ’ पनिका बल्खुसम्म थियो । पनिकाका लेखा अधिकृत कमल दाहालसँग उनको निकट सम्बन्ध थियो । दाहालले योजनामा साथ दिने विश्वास चौधरीलाई दिए । त्यसपछि चौधरीले दुवै छात्रालाई आफ्नै घरमा बोलाएर सक्कली प्रश्नपत्रअनुसार नयाँ उत्तरपुस्तिकामा उत्तर लेख्न लगाए ।

परीक्षा दिइसकेका दुवै छात्राको सक्कली उत्तरपुस्तिका अन्य परीक्षार्थीको उत्तरपुस्तिकासँगै प्याक भएर लाहाछाप लाग्यो । नक्कली उत्तरपुस्तिका भने चौधरीको साथमा थियो । सेटिङ मिलाएर केन्द्रबाट उत्तरपुस्तिका पनिका बल्खु ल्याउने जिम्मा चौधरीले नै लिए । पनिकामा चौधरीको भेट दाहालसँग भयो । दुवै मिलेर बल्खुमा उत्तरपुस्तिकाको पोको फुकाए । दुई छात्राका सक्कली उत्तरपुस्तिका निकाले । विषय, सिम्बोल नम्बर र परीक्षा नियन्त्रकको आधिकारिक छापलगायत रहेको सक्कली उत्तरपुस्तिकाको सबै भित्री पाना निकालेर नक्कली उत्तरपुस्तिका घुसाए र स्टिज गरिदिए । फेरि यी दुई उत्तरपुस्तिकालाई सबै रहेको पोकोमै मिसाए । उत्तरपुस्तिका जाँचकीकहाँ गयो । नतिजा आउँदै (क)ले ४१ तथा (ख)ले ५३ र ५९ नम्बर ल्याएर पास भए ।

कार्यकक्ष सर्दा पोल खुल्यो
केही महिनाअघि पनिकाका लेखा अधिकृत कमल दाहालको कार्यकक्ष परिवर्तन भयो । त्यतिवेला उनका फाइल अर्को कोठामा लानुपर्ने भयो । घुस खाएर परीक्षा पास गराइएका उदयपुरका दुई छात्राका सक्कली उत्तरपुस्तिका भने टेबुलको घर्राबाट निकाल्न बिर्सिए । नयाँ कर्मचारीलाई कार्यकक्ष व्यवस्थापन गर्ने क्रममा ती उत्तरपुस्तिका भेटिए । बदमासी भेटिएपछि गत भदौमा अख्तियारमा उजुरी पर्‍यो ।

अख्तियारले पनिकामा छापा हान्यो । कार्यालयको गोप्य शाखाबाट दुवै छात्राको उत्तरपुस्तिका बरामद गर्‍यो । ती कापीका नम्बर भने त्रियुगा क्याम्पसमै पुगिसकेको जानकारी पायो । अनुसन्धानपछि अख्तियारले घुस खाएर नक्कली उत्तरपुस्तिका लेखाई पास गराएको तथ्य फेला पारेको छ ।

चौधरी र दाहाल अख्तियारको हिरासतमा, छात्रा फरार


अख्तियारले आफ्नो बदमासी पहिल्याएको थाहा पाएपछि त्रियुगा क्याम्पसका प्रशासन सहायक तेजनारायण चौधरीले भाग्ने प्रयास गरे, तर उनी सफल भएनन् । तीन साताअघि पक्राउ गरेर उनलाई अख्तियारको हिरासतमा राखिएको छ । पनिकाका लेखा अधिकृत कमल दाहाललाई पनि अख्तियारले नियन्त्रणमा लिएर हिरासतमै राखेको छ । दुवै निलम्बित छन् । छात्राहरू भने फरार रहेको अख्तियारले जनाएको छ ।

चौधरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको दबाबमा नक्कली उत्तरपुस्तिका पनिकामा बुझाएको बयान अख्तियारलाई दिएका छन् । तर, उनले झुट बोलेको अख्तियारको दाबी छ ।

गिरोह नै सक्रिय रहेको अख्तियारको आशंका
नक्कली उत्तरपुस्तिका लेखाएर पास गराउने अनियमिततामा गिरोह नै लागेको अख्तियारको आशंका छ । यस विषयमा अख्तियारले विस्तृत छानबिनसमेत गरिरहेको छ । ‘यस्तो प्रवृत्ति धेरै अघिदेखि नै थियो, अहिले उजागर भएको मात्र हो,’ अख्तियार स्रोत भन्छ ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइराला भन्छन्–अनुसन्धान भइरहेको छ
उत्तरपुस्तिका परिवर्तन गरेर बदमासी गरेको विषयमा आयोगमा अनुसन्धान चलिरहेको छ । थप जानकारी अनुसन्धानपछि मात्रै दिन सकिन्छ ।

 #नयाँपत्रिका बाट

ताजा खबर