लाङटाङ केन्द्रले अर्को बर्ष चिज उत्पादन सुरु गर्ने

नेपालकै पहिलो चिज उत्पादन केन्द्र लाङटाङले आगामी बर्षदेखि अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने भएको छ ।

सन २००९ मा स्थापना भएको केन्द्रले ५ हजार ५ सय मिटर उचाइमा रहेको यालाखर्क बाट चिज उत्पादन सुरु गरन लागेको हो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसा बाट केन्द्रले चिज तथा मखन उत्पादन गर्दै आएकोमा चौरीपालक कृषकको अनुरोधमा यालाखर्क बाट पनि उत्पादन सुरु गरन लागेको केन्द्रका प्रमुख ग्याल्बो तामाङले बताउनुभयो ।

केन्द्रले लाङटाङमा वार्षिक ५ हजार केजी सम्म चिज उत्पादन गर्ने गरेको छ । बिगतमा उत्पादन भएको चीज लाङटाङ तथा क्यान्जिनमा रहेका होटलमा खपत हुने गरेकोमा पर्यटकको आवागमन नभए पछि दुग्ध विकास संस्थानले काठमाण्डौ लाने गरेको छ ।

भूकम्प पछि केन्द्रले चौरीपालक कृषक घटनु, उपकरणको अभाव, जनशक्तिको अभाव, कोभिड–१९ लगायतका कारण पूर्ण क्षमतामा चिज तथा मखन उत्पादन गर्न नसकेकोे केन्द्र प्रमुख तामाङले बताउनु भयो । अहिले केन्द्रमा दैनिक रूपमा १ सय ५० देखि २ सय लिटरसम्म दुध संकलन हुने गरेकोे छ ।

जिल्लामा दुग्ध विकास संस्थान अन्तर्गत पाँचवटा केन्द्र सञ्चालनमा छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ तथा सान्जेन्मा चिज उत्पादन हुँदै आएको छ ।

पाँच वटा केन्द्रमा वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको छ ।


ताजा खबर