बक्सअफिसमा पत्तासाफ ‘बादशाह जुट’ : निर्माताले पोस्टरको पैसा पनि उठाउन सकेनन्

केही वर्षयता वर्षमा सयको आसपासमा नेपाली फिल्म निर्माण र प्रदर्शन हुने गरेका छन् । जसमध्ये आधा दर्जन फिल्मले मुश्किलले लगानी उठाउँछन् । बक्सअफिसमा सुपरहिटको व्यापार गर्ने फिल्मको संख्या भने ३ देखि ४ वटा मात्र हुन्छ । यस वर्षको अर्धवार्षिकीसम्म ५० बढी फिल्म प्रदर्शन भइसकेका छन् । तर, अहिलेसम्म ‘दाल भात तरकारी’, ‘जात्रै जात्रा’, ‘कबड्डी कबड्डी कबड्डी’ र ‘छ माया छपक्कै’ ले मात्र नाफाको व्यापार गरे ।
बाँकी फिल्मले पोस्टरको पैसा पनि उठाउन सकेनन् । वर्षेनी निर्माताको करोडौंंको लगानी बालुवामा पानी भइरहेको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्मले बम्पर कमाएको समाचार पढेर केही नबुझि घर जग्गा बेचेर फिल्म बनाउन कस्सिने निर्माताका कारण नेपाली फिल्म क्षेत्रमा लगानी त बढेको छ तर प्रतिफल शुन्य बराबर छ । यद्यपि, फिल्म डुबेको डुब्यै भए पनि लगानी गर्ने निर्माता घटेका छैनन् ।
यही शुक्रबार प्रदर्शनमा आएको फिल्म ‘बादशाह जुट’ बाट पनि दुई निर्माता नराम्रोसँग डुबेका छन् । डेढ करोडको आसपासमा निर्माण भएको यो फिल्ममा हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठको लगानी छ । तर, फिल्मले निर्माताको लगानी सुरिक्षत गर्नु त टाढाको कुरा भित्तामा पोस्टर टाँस्नका लागि बनाएको माडको पैसा पनि उठाउन मुश्किल पर्ने देखिन्छ । फिल्म केही हलमा चलिरहे पनि दर्शकको चर्को खडेरी छ ।
यो फिल्मलाई मल्टीप्लेक्समा बलिउड फिल्म ‘हाउसफुल ४’ ले टिक्न दिएन । भने, सिंगल थिएटरमा दुई नेपाली फिल्म ‘छ माया छपक्कै र पोइ पर्‍यो काले’ को चेपुवामा पर्‍यो । फिल्मले बक्सअफिमा घुँडा टेक्नुको प्रमुख कारण ‘वर्ड अफ माउथ’ बलियो नहुनु पनि एक हो । फिल्म हेर्ने कसैले न कथावस्तु न त कलाकारको तारिफ गरेको पाइएको छ । आफूलाई बादशाह सम्झने दुई पात्रको कथामा फिल्म आधारित छ ।
‘बादशाह जुट’ बाट अभिनेता सुशील श्रेष्ठलाई निकै ठूलो आश थियो । यसअघि उनका दुई फिल्म ‘सायद २’ र ‘कारखाना’ बक्सअफिसमा डिजास्टर सावित भएका थिए । यसकारण, यो फिल्मले धरमराउँदो करिअर बचाउनेमा उनी विश्वस्त थिए । तर, यसपटक पनि उनले निराशा भोग्नु परेको छ । ‘बादशाह जुट’ को असफलतासँगै उनले फ्लप फिल्ममा ह्याट्रिक गरेका छन् । जुन एउटा कलाकारको करिअरका लागि शुभ मानिन्न ।

ताजा खबर