त्रिकोणात्मक ओडिआईमा नेपालको ऐतिहासिक जित

क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको सोमबार सम्पन्न अमेरिकाविरुद्धको खेलमा नेपालले जित हात पारेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले अमेरिकामाथि ५ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको सहायतामा ४९ ओभर सकिँदा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

राम्रो सुरुवात गरेको अमेरिकाका लागि मोनाङ्क पटेलले शतकीय पारी खेले। उनले ११४ बलमा ९ चौका र १ छक्काको सहायतामा १०० रन जोडे। त्यस्तै निशर्ग पटेलले २१ रन बनाउँदा शुसान्त मोडानी र करिमा गोरेले समान १६/१६ रन बनाए।

बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुसन भारीले समान २/२ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनिङमा कुशल भुर्तेल र आशिफ शेखले कीर्तिमानी साझेदारी गरे। उनीहरुले ६६ रनको साझेदारी गर्दै नेपालको तर्फबाट एकदिवसीय क्रिकेटमा पहिलो विकेटका लागि सबैभन्दा लामो साझेदारी गरे।

ओपनर भुर्तेलले नेपालका लागि सर्वाधिक ८४ रन बनाउँदा रोहित पौडेल ६२ रनमा अभिजित रहे। त्यस्तै बिनोद भण्डारीले ३७ रन बनाउँदा आशिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए। नेपालले भोलि घरेलु टोली ओमनसँग खेल्नेछ। खेल  नेपाली समय अपराह्न ४ः१५ बजे सुरु हुने छ ।


ताजा खबर