हरियो तरकारीको मुल्य आकासियो : एक महिनामै चारगुणा महँगो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आइतबारको मूल्य सूचीअनुसार पालुङ्गो सागको खुद्रा मूल्य प्रति किलो न्यूनतम् दुई सय रूपियाँ छ भने अधिकतम मूल्य दुई सय पचास छ । मूल्य सूचिअनुसार पालुङ्गो सागको खुद्रा मूल्य एक दिनमै पचास रुपियाँको फरक छ ।

बेमौसमी तरकारीको मूल्य पनि बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको एक महिना अघि साउन २८ गते र आज आइतबार भदौ २७ गतेको औसत थोक मूल्य हेर्दा तरकारीको भाउ चार गुणासम्म बढेको हो ।

एक महिना अघि पच्चीस रुपियाँ पर्ने बोडीको मूल्य अहिले पैसाठ्ठी रुपियाँ पुगेको छ । पैसाठ्ठी रुपियाँमा पाइने काउली अहिले नब्बे रुपियाँ छ । लौका पच्चीसबाट बढेर चालीस पुगेको छ । तिते करेलाको २० रुपियाँबाट बढेर आइतबारसम्म असी रुपियाँ पुगेको छ ।

अदुवा, आलु (रातोरसेता), काउली स्थानीय, काँक्रो, खुर्सानी हरियो (अकबरे), गाजर लोकल, गोलभेडा सानो (टनेल), घिउ सिमी (लोकल हाइब्रिड र टाटे), घिरौंला लगायतका तरकारीको मूल्य बढेको छ । यसैगरी चमसुरको साग, निगुरो, तोरीको साग, रायोको साग, हरियो धनियाँ, चिचिन्डो, च्याउ (डल्ले), झिंगनी, तिते करेला, परवर (लोकल), प्याज हरियो, फर्सी (पाकेको हरियो) लगायतका तरकारीका मूल्य पनि बढेको समितिले जनाएको छ ।

गत साउन २८ गतेको तुलनामा आइतबार तितेकरेलाको प्रतिकेजी मूल्य चार गुणाले बढेको छ । साउनमा तिते करेलाको प्रतिकेजी मूल्य बीस रुपियाँ थियो । अहिले बढेको मूल्य प्रतिकेजी ८० रुपियाँ  छ । तने बोडी र घिरौंलाको प्रतिकेजी मूल्य तीन गुणाले वृद्धि भएको छ ।

लौका, लसुन हरियो, ब्रो काउली र हरियो धनियाँको मूल्य दुई गुणाभन्दा बढीले वृद्धि भएको छ । साउनमा लौकाको प्रतिकेजी मूल्य २५ रुपियाँ हुँदा आज भाउ बढेर चालीस रुपियाँ पुगेको छ । यस्तै हरियो धनियाँ तीन सय किलो पुगेको छ । लसुन सुकेको एक सय ७० र हरियो तीन सय रुपियाँ छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले प्रत्येक वर्ष यो सिजनमा तरकारीको भाउ बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो,“ यो सिजनमा तरकारीको भाउ बढ्छ नै बारीमा लगाएको तरकारी पानीले बिगार्छ र त्यसले बजारमा तरकारीको अभाव भएपछि भाउ बढ्छ ।” उहाँले कृषक तहदेखि नै भाउ बढेर काठमाडौँसम्म तरकारी पुगेकाले मूल्य बढेको बताउनुभयो । उहाँका अनुसार अहिले बजारमा आएको तरकारीको मूल्य केही मात्रामा बढेको हो ।

वर्षाका कारण कतिपय किसान लगाएका तरकारी बारीमै कुहिने गर्दा पनि तरकारीको मूल्य बढेको उहाँले बताउनुभयो । काठमाडौँमा दैनिक सात सयदेखि आठ सय टन तरकारी आइरहेको उहाँले जानकारी दिनुभयो । –रासस


ताजा खबर