एनएसीले तीनवटा अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्ने : थप सातवटा गन्तब्य पाइपलाइनमा

नेपाल वायुसेवा निगमले सात वटा अन्तर्राष्ट्रिय गन्तब्य थप्ने भएको छ।

निगमले चीनको बेइजिङ, संघाई, बंगलादेशको ढाका, म्यानमार रंगुन, भियतनामको हानोइ, कम्बोडियाको नोनफेन, श्रीलंकाको कोलोम्बो लगायत सातवटा नयाँ गन्तब्यमा गर्ने भएको छ।बौद्ध धर्मावलम्बीलाई मध्यनजर गर्दै पर्यटन मन्त्रालयले हवाई सम्झौता गरे अनुसार  निगमले ती क्षेत्रमा उडानको लागि प्रकृया अगाडि बढाएको हो।

हाल कम्पनीले जापानको नारिता, चीनको बेइजिङ, ग्वान्जाओ, साउदीको रियाद,  कोरियाको सिओल लगायतमा उडानका लागि प्रकृया थालिसकेको छ।

चीन उडानका लागि चीन नागरिक उड्डयन प्राधिकरणले आउँदो डिसेम्बर पहिलो सातामा अडिटको लागि आउने जनाएको छ। अडिट पछि निगमले उडान सुरु गर्ने योजना बनाएको जनाएको छ।

रियाद उडानको लागि जिएसए छनौंटको प्रकृया अन्तिम चरणमा पुगेको निगमले जनाएको छ।  निगमका अनुसार जिएसए छनोट छि उडान प्रक्रिया सुरु गर्नेछ।

नेपाल र भियतनामबीच दुईपक्षीय उडान सम्झौंता सन् २०१५ अक्टोबर २०मा भएको थियो। यो सम्झौंता अनुसार दुवै मुलुकले साताको २८ हजार सीट र वार्षिक एक लाख ४५ हजार छ सय सीट यात्रु ओसारपसार गर्न सक्नेछन्। दुवै मुलुकका एक भन्दा बढी वायुसेवा कम्पनीले उडान गर्न सक्ने सम्झौंतामा उल्लेख छ।

यसैगरी सन् १९९८, ७ जुलाईमा चीन र नेपालबीच एक भन्दा बढी वायुसेवा कम्पनीले उडान गर्न पाउने सम्झौंता भएको थियो। सम्झौंता अनुसार दुवै मुलुकले साताको ११ हजार दुई सय सीट र वार्षिक पाँच लाख ८२ हजार चार सय सीट यात्रु ओसारपसार गर्न सक्नेछन्। यो सम्झौंता अनुसार नेपालले चीनको बेइजिङ, सांघाई, ल्हासा, ग्वान्जाओ, छेङ्दु र सियानमा उडान गर्न पाउने प्रावधान छ। चीन र्फ निगमले हालै मात्र ग्वान्जाओ उडान अनुमति प्रक्रियाको अन्तिम चरणमा पुगेको छ। निगमले अहिले सम्भावित अध्ययनका लागि चीनको सांघाई छनौंट गरेको छ।

नेपाल र कम्बोडियाबीच भने सन् २०१८, २९ नोभेम्बरमा मात्र दुईपक्षीय हवाई सम्झौंता भएको हो। औपचारिक रुपमा सम्झौंता भएपनि दुवै मुलुकले पालना गर्नुपर्ने थप प्रावधान भने बनाउन बाँकी रहेको प्राधिकरणले बताएको छ।

यसैगरी नेपाल र श्रीलंकाबीच सन् २००९, जनावरी २३ मा दुईपक्षीय हवाई सम्झौंता भइसकेको छ। सम्झौंता अनुसार साताको २८ सय र वार्षिक एक लाख ४५ हजार छ सय अकुपेन्सी कायम राख्न सकिने प्रावधान छ।

बंगलादेश र नेपालबीच सन् २००५, २३ मे मा भएको दुईपक्षीय सम्झौंता अनुसार साताको सात हजार र वार्षिक तीन लाख ६४ हजार अकुपेन्सी कायम राख्न सकिने प्रावधान छ।

सन् २००६, अप्रिल २१मा म्यान्मार र नेपालवीच भएको दुई पक्षीय हवाई सम्झौंता अनुसार साताको  ५३ सय र वार्षिक दुई लाख ७५ हजार पाँच सय अकुपेन्सी कायम राख्न सकिने प्रावधान छ। नेपालले सन् १९६३ देखि अस्ट्रिया, बहराइन, क्रोएसिया, इजिप्ट लगायत ३९ वटा विभिन्न  अन्तर्राष्ट्रिय गन्तब्यसँग दुईपक्षीय वार्ता गरिसकेको छ। तर हाल नेपाली हवाई कम्पनीले केही अन्तर्राष्ट्रिय गन्तब्यमा मात्र नियमित उडान गर्दै आएकों छ।


ताजा खबर