सबै अमेरिकी सेनाले अफगानिस्तान छाडे : तालिवानीले मनाए खुसी

अफगानिस्तानबाट सबै अमेरिकी सेना फर्किएका छन् । अमेरिकी सेनाले काबुल छोडेसँगै तालिवानी लडाकुले विमानस्थलभित्र प्रवेश गरेर जितको खुसियाली मनाएका छन् ।

आफ्ना सबै सेना फिर्ता गरेसँगै अमेरिकाले पनि अफगानिस्तानमा अमेरिकाको २० वर्षे युद्ध आधिकारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा सैन्य अभियान अन्त्य भएको घोषणा गर्नुभएको हो । बाइडेनले वक्तव्य जारी गर्दै तालिवानले काबुल नियन्त्रणमा लिएपछिको १७ दिन अमेरिकी सेनाले अमेरिकी इतिहासकै सबैभन्दा जोखिम अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो ।

अमेरिकाले ३१ अगस्टसम्ममा आफ्ना सबै सेना फिर्ता गर्ने बताइरहेको थियो । अमेरिकी सेनाले समयसीमाको एक दिन अघि नै काबुल छोडेको हो । अमेरिकी सैनिकको अन्तिम विमान सोमबार राति काबुलबाट उडेको थियो । यो विमान उडेसँगै अफगानिस्तानमा दुई दशक लामो अमेरिकी सैन्य उपस्थिति अन्त्य भएको छ ।अमेरिकाले ११ सेप्टेम्बर २००१ मा अफगानिस्तानमा तालिवानविरुद्ध सैन्य अभियान सुरु गरेको थियो ।

युएस सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केनेथ मेकेन्जीले पछिल्लो १७ दिनमा अमेरिकाले ६ हजार अमेरिकी नागरिकसहित काबुलबाट ७९ हजार मानिसको उद्धार गरेको बताएका छन् । –रोयटर्स


ताजा खबर