‘कालापानी नेपालको भूभाग हो भन्नेमा सरकार स्पष्ट छ’ : परराष्ट्र मन्त्रालय

कात्तिक २० गते । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साका विषयमा एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भनिएको छ “कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ ।”
हालै भारत सरकारले नयाँ नक्साजारी गर्दा नेपालको कालापानी क्षेत्र भारतको भूभाग भित्र पारेको भन्ने विषयमा सञ्चार माध्यमहरूमा समाचार आएको सन्दर्भमा मन्त्रालयले सो विज्ञप्ति जारी गरेको हो
विज्ञप्तिमा भनिएको छ ‘नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देश बीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरूको समाधानको लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको छ’।
विज्ञप्तिमा ‘दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउन पर्ने र एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ ।’
सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरु बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा नेपाल सरकार दृढ रहेको जारी विज्ञप्तिमा लेखिएको छ ।

यसैबीच राससका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्काल धारणा सार्वजनिक गरी गम्भीर पहलकदमी लिन सरकारसँग माग गर्नुभएको छ । कालापानी र लिपुलेक नेपालका अभिन्न अङ्ग भएको उल्लेख गर्दै उहाँले नेपाली माटोका बारे कहीँबाट पनि उब्जिने प्रश्न आपत्तिजनक र अस्वीकार्य भएको बताउनुभएको छ ।

यसैगरी काङ्ग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले आज एक विज्ञप्ति जारी गरी नेपालको माटो भारतले आफ्नो नक्सामा मिसाएको भन्ने विषय सार्वजनिक हुँदासमेत सरकार किन मौन भनी प्रश्न गरेको छ । अध्यक्ष जितजङ्ग बस्नेतले विज्ञप्ति जारी गर्दै नेपाली जनताको चाहनाबमोजिम उक्त भूभागबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दै नेपालको एक मुठी माटो पनि कसैले लगेमा तरुण दललाई मान्य नहुने उल्लेख गर्नुभएको छ । “कालापानी र लिपुलेक हाम्रा अभिन्न अङ्ग हुन् । भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि सरकारले कूटनीतिक पहल तत्काल शुरु गरोस्”, विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालको भूभाग लिपुलेक भारतले नयाँ नक्सामा समेटेको विषयमा सरकारले अविलम्ब भारतको ध्यानाकर्षण गर्नुपर्ने माग गर्नुभएको छ । पार्टीका अध्यक्ष डा लोहनीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा लिपुलेक (कालापानीदेखि मेची–महाकालीभित्र) को जग्गा नेपाल र नेपाली जनताको लालपूर्जा भएकाले यसको स्वामित्व नेपालको हुनेहुँदा यसमा तलमाथि हुन नदिन सरकारलाई आग्रह गरिएको छ ।

भारत सरकारले प्रकाशित गरेको नक्सामा देखिएको गल्तीलाई सच्याउनुपर्ने पार्टीको आधिकारिक धारणा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतले हालै कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरी सार्वजनिक गरेको नक्सा अनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको पार्टीले जनाएको छ ।

लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्रलाई भारतले गत ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्नाभिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटरी) जम्मु–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको पार्टीले जनाएको छ ।

नापी विभागले गत फागुनमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सार्वजनिक गरेको नेपालको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटिएको छ । यो क्षेत्र भारतले अतिक्रमण गरेको भन्दै नागरिक अगुवा, अधिकारकर्मी, विभिन्न विद्यार्थी सङ्गठनलगायतले विरोध जुलुस निकालेका छन् ।

केही वर्ष अगाडि तत्कालीन एमाले सम्बद्ध विद्यार्थी सङ्गठनले लिपुलेक पुगेर ‘लिपुलेक हाम्रै हो’ भन्दै राष्ट्रिय झण्डा फहराएका थिए । दार्चुला जिल्लामा पर्ने लिपुलेकको जनगणना विसं २०१८ मा पहिलोपटक तत्कालीन सरकारले गरेको अभिलेख छ ।

यसैबीच उक्त पार्टीले यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर ४ गतेसम्म देशका विभिन्न स्थानमा गर्न लोगेको धार्मिक यात्रामा सम्बन्धित क्षेत्रका पार्टीका नेता तथा कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो । जनकपुरको जानकी मन्दिर परिसरबाट शुरु हुने यात्रा महोत्तरी, सर्लाही, रौतहट, मकवानपुर, नवलपरासी हुँदै लुम्बिनीमा आएर समापन हुनेछ ।

रासस


ताजा खबर