एकै दिन ३ लाख ६७ हजारलाई कोरोना विरुद्धको खोप

 सरकारले जारी राखेको खोप कार्यक्रममा गत २४ घण्टाभित्र थप ३ लाख ६७ हजार ३ सय ४१ जना नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


अहिलेसम्मको तथ्याङ्कमा ४६ लाख ५९ हजार ४ सय १४ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएको र ३२ लाख २३ हजार ६ सय ९३ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जानकारी दिएको हो । 


आज देशभर १८ हजार ५ सय ८२ जनाको कोरोना भाइरस परिक्षण गर्दा ३ हजार ९ सय १५ जना संक्रमित थपिएका छन् । 

११ हजार ७ सय ८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ७ सय ६३ जना तथा ६ हजार ८ सय ७४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ५२ जना गरी जम्मा ३ हजार ९ सय १५ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

देशभरबाट गएको २४ घण्टामा २ हजार १ सय १८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६ लाख ७९ हजार ४ सय ९५ जना निको भएको मन्त्रालयले जनाएको छ । 


आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९३ दशमलव ३ प्रतिशत रहेको छ । 


देशभरि आज कोरोना सङ्क्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २ सय ३९ जना पुगेको छ । 


देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा ३८ हजार ७ सय ९८ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ । 


जसमा ७ सय ३६ जनाले आइसियु र १ सय ८६ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 


ताजा खबर