कोभिड नियम पालना गर्दै हजारौँ मुस्लिम मक्कामा

कोभिड–१९ विरूद्धको खोप लगाइसकेका हजारौं मुस्लिम तीर्थयात्रीहरू साउदी अरबको मक्कामा हजका लागि भेला भएका छन् ।

ईस्लामहरूको सबैभन्दा पवित्र स्थल भनिने मक्कामा मुस्लिम धर्मावलम्बीहरूले कोभिड–१९ नियन्त्रणका लागि बनाइएको कानूनको पालना गर्दै हज गर्न भेला भएका बताइएको छ ।

इस्लाम धर्मको पाँच महत्वपूर्ण पर्वमध्ये एक मानिने हज ईद अल–अदह उत्सवको समापनसँगै सकिनेछ । शारिरीक रूपमा सक्षम हरेक मुस्लिम धर्मावलम्बीले जीवनमा कम्तिमा एक पटक मक्का पुगी हज गर्नुपर्ने विश्वासमा जीवनमा एक पटक यस पवित्र धार्मिकस्थलको भ्रमण गर्ने प्रयास गर्ने गरेका पाइन्छ ।

समाचार संस्था अल जजीराका अनुसार यस बर्ष हजका लागि मक्का पुगेका करीब १० हजार मुस्लिम धर्मावलम्बीले मास्क लगाएर सामाजिक दूरी कायम गर्दै आइतबार उनीहरूको धार्मिक उत्सव मनाएका हुन् ।

कोरोनाभाइरसका कारण लगातार दोस्रो बर्ष पनि विश्वमा मृत्यु हुनेको सङ्ख्या अझै पूर्ण नियन्त्रणमा नआएका कारण यस बर्ष भने मक्कामा ठूलो सङ्ख्यामा मुस्लिम धर्मावलम्बीहरू भेला हुनबाट नियन्त्रण गरिएको छ । गत बर्ष हज मनाउन विश्वभरका करिब २५ लाख मुसलमान मक्का पुगेका थिए ।

यो बर्ष हजका लागि साउदी अरबका कोभिड–१९ विरूद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति त्यहाँको सरकारले दिएको छ ।

यद्यपि कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ख्याल गर्दै सानो सङ्ख्यामा मात्र उनीहरू त्यहाँ पुगेका छन् । सायदी अरबबासी मुस्लिम धर्मावलम्बीको ठूलो जमात मक्का जान चाहेको भएपनि सबैले खोप लगाइ नसकेका कारण उनीहरूलाई त्यहाँ प्रवेश दिइने छैन ।

साउदी अरबले महामारीका कारण हज गर्न जाने तीर्थयात्रीलाई नियन्त्रण गर्ने नीति अख्तियार गरेको यो दोस्रो वर्ष हो । –अल जजीरा


ताजा खबर