‘अब वीर सबैभन्दा ठुलो अस्पतालका रुपमा चिनिने छ’: प्रा.डा.जागेश्वर गौतम

”मैले दिनरात नभनी बिरामीको सेवा गरेर कमाएको पारिश्रमिकको ३ करोड आयकर सरकारलाई बुझाएको छु । २८ वर्षको अवधिमा मैले करीब ३१ हजार जनाको अपरेशन गरेको छु । मेरो आम्दानीको कर तिर्दासमेत मानिसहरुले प्रश्न उठाए । यो चाँही मेरो विरुद्धको सुनियोजित योजना हो ।’

कोरोना संक्रमण उच्च बिन्दुमा पुगेका बेला संक्रमितको उपचार सहज र व्यवस्थित गर्न भन्दै सरकारले अध्यादेशमार्फत वीर अस्पताललाई कोभिड – १९ युनिफाइड केन्द्रिय अस्पताल बनायो ।

स्रोत र साधन भएको वीरमा क्षमता अनुसार सेवा विस्तार गर्न सकिएको थिएन । अहिले वीरमा १२ वटा विधा थप गरि हाल भइरहेको १७ विभागलाई बढाएर २८ वटा पुर्याउन काम अघि बढिरहेको छ । साथै, नयाँ दरबन्दी थप भएपछि अब वीर सबैभन्दा धेरै जनशक्ति, बेड र विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रुपमा चिनिने भएको छ । यसै सन्दर्भमा हामीले युनिफाइड केन्द्रिय अस्पतालका प्रमुख प्रशासकिय अधिकारी प्रा.डा.जागेश्वर गौतमसँग अस्पतालको वर्तमान अवस्था र भावी योजनाबारे कुरा गरेका छौं । 


कोरोना महामारी चलिरहेको छ कामको चाप कस्तो छ ?
१४ महिना भयो म बिदामा बसेको छैन । मन्त्रालयमा हुँदा पनि शनिबारसमेत काममा आए । यहाँ वीरमा आएपछि पनि हप्ताको सातै दिन काम गरिरहेको छु । 

तपाई वीरमा आएपछि केके काम गर्नुभयो ?
कोभिड – १९ युनिफाइड अस्पतालमा मलाई जेठ ११ गते नियुक्ति गरियो । १२ गतेदेखि म नियमित हाजिर भए । सुरुको केही दिन त मलाई यहाँको वस्तुस्थिति बुझ्नै लाग्यो । म यस्तो समयमा यहाँ आएको थिए जतिबेला देशमा कोरोना भाइरस संक्रमण उच्च थियो । त्यो समय देशभर संक्रमितले बेड नपाइरहेको अवस्था थियो । निजी अस्पतालहरुमा भर्ना हुँदा घरखेतै सकिएको तथा कसैको त उपचारमा टाट पल्टिएर डिस्चार्ज गर्न पैसा समेत नभएको अवस्थामा म केन्द्रिय कोभिड अस्पतालको प्रमुख प्रशासकिय अधिकारी भएर आएको थिए । 

संक्रमितले बेड नपाएर उपचार नपाइरहेको त्यो कठिन अवस्थामा वीरको बेड क्षमतालाई बढाउनुनै हाम्रो पहिलो प्राथमिकता थियो । म आउँदा वीरमा जम्मा ९ आइसियु बेड सञ्चालनमा थियो । म आएलगत्तै आइसियु बेडलाई बढाएर २५ वटा पुर्याँए । त्यसपछि बिस्तारै नयाँ सर्जिकल भवनमा संक्रमितको उपचार सुरु गर्यौं । जेठ १८ गतेदेखि नयाँ भवनमा कोभिडको बिरामीको उपचार हुन थाल्यो । एक तलामा एक सय बेडको व्यवस्था गरि हामीले कोभिडका बिरामी लिन थाल्यौं । ती बिरामीको उपचारका लागि क्रिटिकल केयर डाक्टर, नर्सलगायतको जनशक्ति पनि थप्यौं । 

अहिले नयाँ भवनमा पनि बेड संख्या थप भएको छ । २०० बेडमा एक सय बेड आइसियुसहित र बाँकी एचडियु बेड छन् । संक्रमितको चाप बढेको खण्डमा आवश्यक परे २०० वटै आइसियु बेड सञ्चालन गर्ने गरि तयारी अवस्थामा राखेका छौं । 

दोस्रो काम भनेको, वीर अस्पतालमा ८३१ दरबन्दी थप गर्न हामी सफल भएका छौं । वीरमा दरबन्दी थप्ने प्रक्रिया झण्डै १ वर्षदेखि चलिरहेको थियो यो दरबन्दी थप्ने काममा स्वास्थ्य प्रवक्ता हुने बेलादेखिनै मैले अग्रसरता लिएको थिँए ।  तेस्रो काम भनेको अक्सिजनको व्यवस्थापन भएको छ । 

पहिला मेनिफोल्डको सहयोगबाट हामीले बिरामीलाई अक्सिजन दिइरहेका थियौं त्यसो हुँदा भेन्टिलेटर, आइसियु र एचडियुमा राखी अक्सिजन दिन पर्ने बिरामीलाई नयाँ भवनमा राख्न सकिएको थिएन । अहिले यहाँ अक्सिजनको नयाँ प्लान्ट जडान गरिएको छ । अब दिनको २०० सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । २० टन क्षमताको लिक्विड ग्याँस ट्यांक जोडेका छौं । गत २७ गतेमात्रै  प्रधानमन्त्रीबाट यस अस्पतालको उद्घाटन भएको छ । 

म आउनु अगाडि खरीदको काम ठप्प रहेछ । वीरको नियमित खरिदलाई २० करोड र कोभिड -१९ अस्पतालको लागि भनेर २० करोड गरि ४० करोड रुपैंया  विनियोजन भएको रहेछ तर वर्षभरी यहाँ केही पनि खरिद भएको रहेनछ । जसका कारण २० करोड रकम फ्रिज भएको छ । लगभग २० करोड बराबरको सामनको खरिदको प्रक्रिया सुरु भइसकेको छ । सामानहरु आउने क्रम चलिरहेको छ । 

अर्काे महत्वपूर्ण कुरा, भनेको अब वीर अस्पताल सुध्रिन्छ, जनताले सहज उपचार पाउनेछन् भन्नेमा हामी विश्वस्त छौं । डेढ वर्षदेखि बन्द रहेको मिग्रौला प्रत्यारोपण सेवा पनि अब छिट्टै सुरु हुन्छ । हामी तेस्रो लहरको पूर्वतयारी छौं । यदि तेस्रो लहर आए बेड, अक्सिजनको अभावमा उपचार नपाउने अवस्था नआओस् भनी प्रदेशमा समन्वय गरि काम गर्दैछौं ।

अब प्रदेशमा पनि कोभिड युनिफाइड अस्पताल तोक्ने हो ?  
हो । केन्द्रमा वीर र प्रदेश स्तरमा प्रादेशिक युनिफाइड अस्पतालहरुमा हुनेछन् । सात प्रदेशमा रहने प्रादेशिक युनिफाइड अस्पताललाई वीरले समन्वय गर्नेछ र प्रादेशिक अस्पताहरुले अरु अस्पतालहरुसँग समन्वय गर्छ । त्यसका लागि हामी तयारी छौं । कम्तिमा १५ दिनभित्र कलसेन्टर र कमाण्ड सिस्टमको स्थापना हुनेछ । प्रदेशका अस्पताहरुले विरामीको उपचारको व्यवस्थापनमा समस्या भए रिफर गर्नपरे कोभिड अस्पताहरुमा रिफर गर्नुहुनेछ । त्यसका लागि हामी प्रणालीको विकास गर्दैछौ । बेड नपाएर उपचार नपाउने बिरामीको बाध्यता हट्नेछ ।

देशभरका युनिफाइड अस्पताल, प्रदेशका ७ र काठमाडौं उपत्यकाका १३ वटा अस्पतालमा संक्रमितहरुलाई बेडको व्यवस्थापन गर्नेछौं । यसो हुँदा रिफर गरिएका संक्रमितलाई कहाँ लैजाने, एम्बुलेन्सको व्यवस्थापन लगायतको काम हुनेछ । कोभिड युनिफाइड अस्पतालहरु अहिले महामारीमा संक्रमितको उपचारमा केन्द्रित हुनेछन् तर पछि महामारी नुहँदा अन्य बिरामीको उपचार पनि हुनेछ । 

बिरामीको चाप केही घटेको छ, अहिले वीरमा कोभिड र नन कोभिडको अवस्था कस्तो छ?
अहिले वीरमा ओपिडि सेवा सुरु भइसकेको छ । कोभिडका ८४ जना बिरामी उपचाररत हुनुहुन्छ । जसमध्ये १२ जना आइसियुमा हुनुहुन्छ । वीरको नयाँ भवनमा कोभिड र पुरानो भवनमा नन कोभिडको बिरामीको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा पनि ननकोभिडको उपचार भइरहेको छ । ट्रमा र वीरको पुरानो भवनमा अपरेशन पनि सुरु भइसकेको छ । अक्सिजन प्लान्ट जोडिसकेकाले नयाँ भवनमा आइसियुका संक्रमितलाई सारिने छ । सबैलाई यो जानकारी गराउँछु कि वीरमा पुराना सबै सेवा सुरु भइसकेको छ । 

नयाँ भवनमा कोभिडको बिरामी मात्रै राख्ने हो ?
कोभिड फेरि बढ्न थाल्यो भने नयाँ भवनमा ५०० बेड, पुरानो भवनमा ४०० र ट्रमा सेन्टरमा २०० गरि ११ सय जना संक्रमितको उपचार गर्ने व्यवस्थापन गर्नेछौं तर कोभिड बढेन भने हामी नयाँ भवन त्यत्तिकै खाली राख्ने छैनौं । 

हामीले के भन्नुपर्छ भने कोभिडका बिरामीहरु अन्तिम समयसम्म टेकु र वीर अस्पतालमा मात्रै हुनेछन् । अरु अस्पतालहरुलाई कोभिड फ्रि अस्पताल बनाइनुपर्छ । म लगायत अस्पतालका टिम यसैका लागि जुटेको छ । नयाँ सर्जिकल भवनमा ५ तला बिरामीको उपचारका लागि छुट्याइएको छ । पहिलो तल्लामा २०० बेड क्षमतासहित कोभिडका मात्रै बिरामी र अरु तलाहरुमा पुरानो भवनमा रहेका अपरेशन थियटर, सर्जिकल वार्ड, अंग प्रत्यारोपण युनिटहरु सार्ने सोच बनाएका छौं  । अपरेशन थियटर १५ वटा ननकोभिड र १ वटा कोभिडका लागि हुनेछन् । 

दरबन्दी थप भइसकेको अवस्थामा अस्पतालको सेवा पनि विस्तार पनि हुन्छ ?
अहिले यहाँ १७ वटा विभाग छन् तर हामी यसलाई बढाएर २९ वटा विभाग बनाउदैछौं । ४८० बेड क्षमता रहेकोमा ९ सय बढी बनाउने तर्खरमा छौं । अब वीर अस्पताल नेपालकै सबैभन्दा ठुलो अस्पताल बन्नेछ । कुनै पनि मेडिकल कलेज, कुनै पनि अस्पतालसँग वीरमा भएको जति बेड छैन । अहिले हामीसँग ९ सय बेड छन् । नयाँ दरबन्दी अनुसार नयाँ नयाँ विषयको डाक्टर थप हुनुहुनेछ , ६०० जना त स्टाफ नर्स थपिनेछन् । अरु विधाका सेवाहरु पनि थप हुनेछ र वीर अस्पताल नेपालकै सबैभन्दा बढी विधामा डाक्टरहरु भएको अस्पताल बन्नेछ । 

तपाईले वीर नेपालकै नमुना अस्पताल बन्छ भनिरहँदा तपाईमाथि किर्तेसहित विभिन्न आरोप लागेको छ,
पहिलो कुरा मानिसहरुलाई लागेको कुरा लेख्न पाउनुपर्छ भनेर हिजोको पञ्चायत विरोधी आन्दोलनमा लागेको व्यक्ति हुँ म । त्यसैले कसैले के लेख्यो भनेर म दुँखी हुदिँन । तर कुरा के हो भने कसैको बारेमा केही लेखिदै‌‌छ भने त्यो तथ्यपरक हुनुपर्छ भन्ने मेरो मान्यता हो । 

किर्ते प्रमाणित भएको व्यक्ति भनेर पनि लेखे तर यसमा तथ्य छैन । चितवन मेडिकल कलेजमा काम गर्दा एक संस्थामा मेराे आवद्धता थियो । त्यसमा शेयरको किनबेच भएको थियो । भारतीयहरुले शेयर पाउनुपर्ने थियो त्यहाँको व्यवस्थापकले दिन मानेन । भारतीयहरुले जुन पैसा नेपालमा ल्याएर लगानी गरेका थिए त्यो पैसा मैले फिर्ता गरिदिएको हुँ । मेरो मेहेनतको पैसा थियो त्यो ।

त्यतिबेला केही व्यक्तिहरुको स्वाभिमानमा ठेस लागेको अनुभव गरे र यसले किर्ते गर्यो भन्न् आराेप लगाएर म विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा हाले त्यतिबेला मैले मुद्धामा हाँरे । तर आफुलाई अन्याय भयो भन्दै म पुनरावेदनमा गए र मैले जिते । त्यतिबेलाको कुरा नबुझी अहिले किर्ते गर्यो भनेर मेरो चारित्रिक हत्या हुने गरि पनि समाचार आए  । पछि मैले बाध्य भएर फेसबुकमै मैले सफाइ पाएको आदेश राँखे । यसरी थाहै नपाई लेखेका साथीहरुलाई म के भन्न चाहन्छु भने त्यो किर्ते नभएको प्रमाणित भइसक्यो । 

वीरमा आएपछि पनि तपाईले खरिदमा अनियमितता गर्नुभयो रे ? 
वीरमा एक वर्षमा जति खरिद हुनपर्नेथ्यो त्यसको १० भागको एक भाग पनि काम भएको थिएन । अस्पताल चलाउन त सामग्री चाहिन्छ त्यो किन्नुपर्छ । टेण्डरको प्रक्रियामा किन्दा पहिला इ-टेण्डर गरिन्छ । सप्लायर्सहरुले टेण्डर हाल्छन् । टेण्डर हाल्नेहरुको रेट मुल्यांकन गरिन्छ । मैले यहाँ आएपछि निकालेको टेण्डरमा सबैभन्दा कम मुल्य रेट राखेको सप्लायर्सलाई खरिदको टेण्डर दिएको छु । अब सबैभन्दा कममा टेण्डर हाल्नेलाई खरिद गर्न दिएपछि त्यो सप्लायर्स मेरो चिनजानको व्यक्ति थियो र थिएन भन्नेले मतलव राख्दैन । 

मेरो त्यसमा कुनै गल्ति कमजोरी भए कानुनी उपचारमा जानु भए हुन्छ । दोषी भए मलाई सजाय पनि हुन्छ  । तर मनगणन्ते पारामा जे मन लाग्यो त्यो भन्नु भनेको काम गर्न दिन नखोज्नु हो । यसले अब वीरमा काम गर्न थाल्यो भनेर धेरै मानिसहरुले नचाहिँदो कुरा लेखिरहेका छन्,लेखाइरहेका छन् । 

तपाईलाई म प्रष्ट भन्छु अहिले वीर अस्पतालमा आइसियु, एचडियु नचलोस् भनेर धेरै मानिस लाग्या छन् । प्राइभेट अस्पतालको पनि घुसपैठ छ र हाम्रो टिमलाई नरुचाउनेहरुको पनि घुसपैठ छ । यो अस्पताललाई धरासयी बनाउन सकियो भने आफ्नो व्यापार व्यवसाय राम्रोसँग फस्टाउँछ भन्ने भ्रम छ । त्यसैको आधारमा मेरो विरुद्धमा लागेका हुन् । मेरो विरुद्धमा लाग्नु भनेको काम गर्न नदिनु हो । 

तपाई आफैं पनि हेर्न सक्नुहुन्छ जागेश्वर आएपछि केके सुधार भयो भनेर । मलाई सोधिराख्न पनि पर्दैन । काम गर्ने व्यक्तिलाई दुरुत्साहित गर्न जे पनि गरिन्छ । डा.जागेश्वर गौतम खुला पुस्तक हो । गौतमले अकुत सम्पत्ति कमायो भनेर पनि भने तर मैले दिनरात नभनी बिरामीको सेवा गरेर कमाएको पारिश्रमिकको ३ करोड आयकर सरकारलाई बुझाएको छु । २८ वर्षको अवधिमा मैले करीब ३१ हजार जनाको अपरेशन गरेको छु । मेरो आम्दानीको कर तिर्दासमेत मानिसहरुले प्रश्न उठाए । यो चाँही मेरो विरुद्धको सुनियोजित योजना हो । वीर अस्पतालमा जागेश्वरलाई आउन नदिन भएका खेलहरु हुन् । 

अस्पतालका धेरै कर्मचारीहरु तपाईकाे विरुद्धमा छन्, यस्तो अवस्थामा तपाई कसरी अगाडि बढ्नसक्नु हुन्छ ?
न्याम्स र नेपाल सरकारको गरेर  अहिले यहाँ करीब ११ सय कर्मचारी हुनुहुन्छ । अब ८३१ जना थपिदै हुनुहुन्छ । झण्डै २ हजार कर्मचारीले वीर अस्पताल चलाउनेछन् । यसका लागि हामी सबै सकारात्मक बाटोेतर्फ लाग्नुपर्छ । अहिले न्याम्सले शैक्षिक गतिविधि सञ्चालन गर्ने, युनिफाइड अस्पतालले संक्रमितको उपचार हेर्ने र स्वास्थ्यमन्त्रालय अन्तर्गत अर्काे आयोजना इकाइ कार्यालय पनि गठन पनि हुँदैछ । भक्तपुरको दुवाकोटमा विशेषज्ञता सेवासहित अर्काे अस्पताल बन्नेछ, त्यो आयोजना इकाइले हेर्नेछ । 

अर्काे तपाईले सन्देह गर्नुभयो कि तपाईको विरुद्धमा धेरै छन् यस्तो अवस्थामा अस्पताल कसरी चलाउनुहुन्छ भन्ने । यसमा धेरै मानिस भ्रममा छन् धेरै मानिसलाई हामीले गरिरहेको कामबारे ज्ञान छैन । यतिका धेरै स्रोत साधन भएको वीर अस्पताल, यति धेरै सरकारी लगानी भएको वीर अस्पताल, यति कर्मचारी भएको वीर अस्पताललाई नेपाल सरकारले भवन बनाउन कर्मचारी खर्च लगायतका लागि पैसा पठाएको छ । हामीले सेवा प्रदान गरेको वापत् थोरै केही शुल्क पनि उठाउँछौ यसले न्याम्सको राम्रोसँग खर्च धान्छ यसका लागि इमान्दारीका साथ काम गर्नुपर्छ । 

आफुले पाएको जिम्मेवारी इमान्दारीका साथ वहन गरे वीर अस्पतालको कायापलट हुन्छ । राम्रो संस्थाको विकास हुन्छ मैले यसको सम्भावना देखेको छु । म यहाँबाट गएपछि पनि भावि प्रमुखलाई काम गर्न सजिलो हुने गरि सिस्टम बनाउदैंछु । 

भिडियोः

स्वास्थ्य अनलाइन पत्रिका हेल्थपाटीवाट साभार गरिएको


ताजा खबर