दूरसञ्‍चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो ।

लामो समयको तयारी पश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो । प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबालल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ ।

प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै एमडीएमएस सिष्टम लागू भए पनि हाल सञ्चालनमा रहेका मोबाइल फोन सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ ।

‘पहिलो चरणमा व्यावसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आइएमइआई रजिष्ट्रेशन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टममार्फत गर्ने व्यवस्था मिलाइएको छ, उक्त प्रणालीलाई क्रमशः पूर्णरुपमा लागू गरी मोबाइलको आयात एवं प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाइनेछ’, सूचनामा भनिएको छ ।

एमडीएम प्रणालीले कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने काम गर्छ । एमडीएमएसको सफ्टवेयर तथा हार्डवेयर राख्न प्राधिकरणले चाबहिलस्थित भवन निमार्ण गरेको छ । –रासस


ताजा खबर