विभिन्न विधाका ६ स्रष्टालाई विद्यापति पुरस्कार प्रदान

विद्यापति पुरस्कार कोष जनकपुरधामले २०७७ सालको नेपाल विद्यापति पुरस्कारबाट ६ जना विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार प्रदान गरेको छ ।


२ लाख रकमको नेपाल विद्यापति मैथिली साहित्य पुरस्कारबाट मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष सतिश दत्तलाई प्रदान गरिएको छ । १ लाखको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट साहित्यकार एवं राजनीतिज्ञ बृषेशचन्द्र लाललाई प्रदान गरिएको छ ।


१ लाख रकमको नेपाल विद्यापति अनुसन्धान पुरस्कार पत्रकार एवं साहित्यकार सुजित कुमार झालाई प्रदान गरिएको छ भने १ लाख रकमकै नेपाल विद्यापति पाण्डुलिपि पुरस्कार पत्रकार एवं साहित्यकार अमरेन्द्र यादवलाई प्रदान गरिएको छ ।


कोषले १ लाख रकमको नेपाल विद्यापति कला संस्कृति पुरस्कार दुई जनालाई प्रदान गरेको छ । सो पुरस्कार अजित कुमार साह र श्रीमती सुनिता कुमारी साहलाई ५० –५० हजार प्रदान गरेर पुरस्कृत गरिएको छ ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले पुरस्कृत व्यक्तित्वहरूलाई नगद, सम्मान पत्र तथा दोसल्ला ओढाएर पुरस्कृत गर्नु भएको थियो । कार्यक्रममा मुख्यमन्त्री राउतले कुनै पनि ठाउँको विकासको पूर्णता भौतिक विकासले मात्र नहुने बताउँदै भाषा, साहित्य, संस्कृतिको विकास आवश्यक रहेको बताउनुभयो । उहाँले भाषा साहित्यको विकासका लागि प्रदेश नंं २ का सरकारले चाडै प्रतिष्ठान स्थापना गर्ने जानकारी दिनुभयो ।


विद्यापति पुरस्कार कोषका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्व मध्ये साहित्यकार बृषेशचन्द्र लाल, मधेसी आयोगका अध्यक्ष डा. विजय दत्त, साहित्यकार एवं पुरस्कार चयन समितिका सदस्य हिमांशु चौधरी तथा कोषका सदस्य सचिव एवं गायक नवीन कुमार मिश्रले मैथिली भाषा तथा साहित्यको क्षेत्रका लागि यो पुरस्कार नोबेल पुरस्कार भएको बताउनुभयो ।

कार्यक्रममा विद्यापतिका विभिन्न गीत सङ्गीतहरू प्रस्तुत गरिएको थियो । कोरोना महामारीलाई ध्यानमा राखेर थोरै व्यक्तिको सहभागितामा पुरस्कार वितरण गरिएको थियो । 


ताजा खबर