‘सरकारबाट बाहिरिनुपरेकोमा रत्तिभर चिन्ता छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिनुपर्दा आफूले रत्तिभर पनि चिन्ता नलिएको बताउनुभएको छ ।

सरकारबाट बाहिरिनुअघि सिंहदरवारबाट देशबासीका नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले पदमा रहँदा निष्ठा र इमान्दारिताका साथ काम गरेको उल्लेख गर्नुभयो । ‘सर्वोच्चको जनादेशले होइन, सर्वोच्चको परामदेशले ।

जनादेश मेरो पक्षमा थियो, परमादेश शेरबहादुरजीको पक्षमा आयो,’ उहाँको भनाइ छ, ‘सरकारको जिम्मेवारीबाट बाहिरिदैछु, बाहिरिदनुपरेकोमा रत्तिभर चिन्ता छैन ।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलालले दलीय प्रणाली कमजोर बनाउने उल्लेख गर्दै त्यसका परिणाम विस्तारै देखिँदै जाने जिकिर गर्नुभयो । उहाँले राजनीतिक विषयमा अदालत प्रवेश गर्न नमिल्ने तर्क गर्दै त्यसको भारी न्यायिक निकायले बोक्न नसक्ने पनि बताउनुभयो ।

‘राजनीतिक फैसला गर्ने जिम्मा दलहरुको हो, राजनीतिक फैसलामा अदालतको अधिकतम संयमता अपेक्षित रहन्छ, नजिर पनि त्यस्तै छ,’ उहाँको भनाइ थियो, ‘प्रत्येक विषयमा हात हालेर, सन्दर्भै नभएका, मागै नभएका विषयमा हात हालेर न्यायिक सक्रियता बढ्नु दुःखद हो ।’

प्रधानमन्त्रीले लोकतन्त्र आफ्नो लागि जिविका होइन, जीवन भएको बताउनुभयो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि प्रधानमन्त्री ओली सरकारबाट बाहिरिनुभएको हो ।

ओलीले करिव ३ वर्ष ५ महिना सरकारको नेतृत्व गर्नुभएको छ ।


ताजा खबर