इङ्ल्याण्ड क्वाटरफाइनलमा : जर्मनी २-० ले पराजित

उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै  इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले लुक शको पासमा गोल गरेका थिए ।

जारी युरोकपमा स्ट्रर्लिङको यो चौंथो खेलमा तेस्रो गोल हो । समूह चरणमा उनले दुई गोल गरेका थिए । 

त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन् । जारी युरोमा उनको यो पहिलो गोल हो । 

यससँगै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । इंग्ल्यान्ड दोस्रो पटक युरोकपको क्वाटरफाइनलमा पुगेको हो ।

यस जितसँगै इंग्ल्यान्डले ५५ वर्षपछि जर्मनीलाई नकआउट चरणमा पराजित गर्न सफल भएको छ । यस अघि इंग्ल्यान्डले जर्मनीलाई १९६६ को विश्वकप फाइनलमा पराजित गरेको थियो ।

जर्मनी भने प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको छ । जर्मनी पहिलो पटक मुख्य प्रतियोगिताको राउण्ड अफ १६ बाट बाहिरिएको हो ।

अब इंग्ल्यान्डले क्वाटरफाइनलमा स्विडेन र युक्रेनबीचको विजेतासँग खेल्नेछ ।

इग्न्ल्यांडले  समूह चरणमा ‘डी’ को समूह विजेता बन्दै राउण्ड अफ १६ मा स्थान बनाएको हो ।  इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो  ।

जर्मनीले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो । –बीबीसी


ताजा खबर