युरोकप : इटाली क्वाटरफाइनलमा, अष्ट्रिया बाहिरियो

 इटाली १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको दोस्रो प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन परिवर्तित खेलाडीद्वय फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो । अष्ट्रियाले एक गोल फर्कायो ।

खेलको ९५ औं मिनेटमा चिसाले गोल गर्दै इटालीलाई १-० गोलको सुरुवाती अग्रता दिलाए । उनले लियोनार्दोको पासमा गोल गरे । उनी खेलको ८४ औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

खेलको १ सय ५ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । फ्रान्सिस्कोको पासमा गोल गरेका उनी ६७ औं मिनेटमा निकोला बरेलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएपनि इटाली २-१ ले विजयी भयो । उनले लुइसको पासमा हेडमार्फत गोल गरे । तर, उनको गोलले टिमलाई हारबाट जोगाउन भने सकेन ।

त्यसअघि ३२ औं मिनेटमा इटालीका सिरो इमोबाइलको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

यस्तै ६५ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नुटोभिकले गोल गरेका थिए । तर, भीएआर रिभ्युमा अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।

यस जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ  । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको हो ।

इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।  सन् २०१८ सेप्टेम्बरमा यूइएफए नेसन्स लिगको समूह चरणमा पोर्चुगलसँग १–० ले पराजित भएपछि इटालीले हार व्यहोरेको छैन ।

यससँगै इटाली क्वाटरफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । अष्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताको समूह चरणमा इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा इटालीले ३ खेलमा ९ अंक जोडेको थियो ।

पहिलो पटक नकआउट चरणमा पुगेको अष्ट्रिया समूह ‘सी’ को उपविजेता बनेको थियो । समूह चरणमा अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो । –रोयटर्स


ताजा खबर