न्युजिल्याण्ड बन्यो अन्तर्राष्ट्रिय टेष्ट क्रिकेट च्याम्पियन

 न्युजिल्याण्ड अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटको च्याम्पियनसिप जितेको छ । विश्व टेष्ट च्याम्पियन भारतलाई आठ विकेटले हराउँदै न्युजिल्याण्डले पहिलो पटक भएको टेष्ट च्याम्पियनसिपको उपाधि जितेको छ ।

साउथम्पटनमा भारतले प्रस्तुत गरेको १३९ रनको लक्ष्य खेलको आरक्षित अन्तिम दिनमा न्युजिल्याण्डले मात्र दुई विकेटको क्षतिमा सहजै पूरा गर्यो ।

छैटाैं दिनको खेल मात्र दुई विकेटको क्षतिमा ६४ रनबाट अगाडि बढाएको भारतले दिनको खेलमा ५० ओभर बाँकी रहँदा मात्र १७० रनमा समेटिन पुग्यो । विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले ४१ रनको उत्कृष्ट पारी खेले पनि ठूलो याेगफलसम्म डोर्याउन सकेनन ।

न्युजिल्याण्डले भने जितका लागि एक सय रनभन्दा बढी आवश्यक छँदा ओपनरद्वय डेभोन कोनवे र टम लाथमको विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर अनुभवी रोस टेलर र कप्तान केन विलियम्सनको जोडीले न्युजिल्याण्डलाई पहिलो पटक प्रमुख उपाधि दिलाउन सफल रह्यो । विलियम्सन ५२ र रोस टेलर ४७ रन बनाएर अविजित रहे । जितसँगै क्रिकेटको शक्ति राष्ट्रको दाबी गर्न रुचाउने भारतबाट उक्त उपमा न्युजिल्याण्डले खोसेको छ ।

सन् २०१९ मा क्रिकेटको सबैभन्दा लामो र परम्परागत् स्वरुप टेष्ट च्याम्पियनशीपको अवधारणा लागू भएको हो । त्यसअघि, साउथम्पटनमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले पहिलो पारीमा २१७ रनमा समेटिँदा न्युजिल्याण्डले २४९ रन बनाउँदै ३२ रनको अग्रता कायम गर्न सफल भयो । दोस्रो पारीमा भारत मात्र १७० रनमा खुम्चियो । विराट कोहली, चेतेश्वर पूजारा, रोहित शर्मा लगायतका ब्याट्सम्यानले दुबैमध्ये कुनै पारीमा जिम्मेवार भएर ब्याटिङ गर्न सकेनन । न त भारतीय बलिङ नै प्रभावकारी रहन गयो ।


ताजा खबर