सरकारले अब निजी अस्पतालमा उपचार गराउनेको खर्च नबेहोर्ने

सरकारले अब निजी अस्पतालमा उपचाररत कोभिड-१९ संक्रमितको उपचार खर्च नबेहोर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना निकालेर सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेकाे जानकारी दिएकाे हाे । सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालमा भर्ना भइ उपचाररत संक्रमितको उपचार खर्च आगामी असार १८ गतेसम्म मात्र बेहोर्ने सूचनामा उल्लेख छ ।

‘कोभिड-१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालहरुमा आजसम्म भर्ना भइ उपचाररत संक्रमितहरुको आजका मितिले १० दिनसम्मको मात्रै नियामानुसारको सोधभर्ना उपलब्ध गराइने छ’- सूचनामा लेखिएकाे छ ।

अबदेखि सरकारी अस्पतालहरु, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुलाई मात्रै कोभिड-१९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गरिएको मन्त्रालयले जनाएकाे छ ।यसअघि सरकारले कोभिड-१९ उपचारका लागि तोकिएका सरकारी तथा सेवा सम्झौता गरेका निजी अस्पताललाई उपचारबापतको खर्च सोध भर्ना गराउने निर्णय गरेको थियो ।

संक्रमितले आफ्नाे इचछाअनुसार निजी अस्पतालमा उपचार गराउन भने सक्ने छन् । निजी अस्पतालमा उपचार गराउने संक्रमितसँग सरकारले तोकेको भन्दा बढी शुल्क नलिई सेवा प्रवाह गर्न समेत मन्त्रालयले अनुराेध गरेकाे छ ।


ताजा खबर