‘शारीरिक र मानसिक स्वस्थकालागि योग महत्त्वपूर्ण छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिलाई शारीरिक र मानसिक रूपले स्वस्थ राख्न अहिले योगको महत्त्व अझ बढेको बताउनुभएको छ ।

७ औँ अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आचरण युक्त, मानवतावादी, देशभक्त नागरिक तयार पार्न एवं सभ्यता र संस्कृतिको धरोहरलाई जोगाइराख्न योग आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले योगले मनको भाव शुद्ध र सकारात्मक राख्ने भएकाले चित्तको शुद्धता नै योगको प्रस्थान विन्दु हो भन्नु भयो ।

योग प्रकृति र मानव जीवनसँग सम्बन्धित रहेकाले कुनै धर्म र सम्प्रदायसँग जोडेर योगलाई सङ्कुचित बनाउन नहुनेमा जोड दिनुहुँदै प्रधानमन्त्री ओलीले आन्तरिक शुद्धीकरणका साथै मानवीयता र शान्तिका लागि योगको वास्तविक पक्ष धारण गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मानवीय समाज निर्माण गर्ने खालको योग शिक्षाले मात्र नेपालप्रति विश्वलाई आकर्षित गर्न सकिने बताउनुभयो । 

प्रधानमन्त्री ओलीले यम, नियम, आसन र प्राणायामको अभ्यास र बुझाइ एक साथ हुने गरी छुट्टै योग विद्यालय आवश्यक रहेकोमा जोड दिनुभयो ।

कपिलमुनिले प्रतिपादन गर्नुभएको साङ्ख्य दर्शनमा आधारित योगलाई विकास र पुनरुत्थान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मूल आयोजक समितिका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले विद्यालय तहदेखि नै योगको विषयलाई पाठ्यक्रममा समावेश गरिएको र अव ध्यानका लागि आवश्यक प्रोटोकल बनाउन शुरु गरिएको जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले नेपाललाई योग पर्यटन गन्तव्य मुलुकका रुपमा विकास गरिने बताउनुभयो ।

कार्यक्रममा डा. हरिप्रसाद पोखरेलले अनेकतामा एकता नेपाली योगको सभ्यता रहेको बताउनुभयो ।

स्वामी आनन्द अरुणले योगको शुरुवात मनको शुद्धताबाट हुने र यसका लागि अभ्यास र वैराग्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

योगसँग सम्वद्ध विभिन्न संस्थाका योग गुरुहरूको सहभागिता रहेको कार्यक्रममा ब्रह्म कुमारी राजयोग सेवा केन्द्रका तर्फबाट ध्यानको अभ्यास गराइएको थियो ।  


ताजा खबर