युरोकपको समूह चरणमा आज चार खेलहरु हुँदै

युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) चार खेलहरु हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘बी’ र समूह ‘सी’ को समान दुई दुई खेल हुनेछन् ।

समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुई खेलमा नेदरल्यान्ड्सले लगातार जित निकालेको थियो ।

नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ । ६ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ ।

नर्थ म्यासेडोनिया अंक विहीन रहदै पुछारमा रहेको छ । म्यासेडोनियाले अघिल्ला दुबै खेल गुमाएको थियो ।

यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल ९:४५ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

समूह ‘बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

बेल्जियम यस अघि नै  नकआउट चरणमा पुगिसकेको छ । अघिल्ला दुई खेल जितेको बेल्जियमले ६ अंक जोडेको छ । आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ ।

फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

डेनमार्क अंक विहीन रहदै पुछारमा रहेको छ । डेनमार्कले अघिल्ला दुई खेल गुमाएको थियो । तर, डेनमार्कको पनि नकआउट चरणमा पुग्ने सम्भावना रहेको छ । –रोयटर्स


ताजा खबर