‘नेपाल स्काउटको ७० औँ स्थापना दिवसको शुभकामना’

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको सरकार युवा र  बालबालिकाको  साथमा रहेको बताउनुभएको छ ।

नेपाल स्काउट को ७० औँ स्थापना दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले देशले लिएको बाटो र उद्देश्यहरूसँग स्काउटका उद्देश्यहरू मिलेको भन्दै युवा तथा बालबालिकाको पक्षमा सरकार सधैँ रहने बताउनुभएको हो ।

‘आज हाम्रो देशले लिएका उद्देश्यहरू, हाम्रो देशले लिएको बाटो, देशले अपनाएका नीतिहरू र हामीले निर्धारण गरेका आजका लक्ष्यहरू स्काउटका उद्देश्यहरूसँग मिल्दाजुल्दा छन् । आजको सरकार युवाहरूको साथमा छ । आजको सरकार स्काउटको साथमा छ । आजको सरकार बालबालिकाहरूको साथमा छ । म तपाईँहरूको साथमा छु ’ सन्देशमा उल्लेख छ । 


सन्देशमा प्रधानमन्त्री ओलीले सरकारको समृद्ध नेपाल– सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नका लागि स्काउटको अनुशासन, एकतावद्ध प्रयास सहयोगी हुने बताउनुभएको छ । ‘विभिन्न पक्षहरूबाट भएको अवरोधका बाबजुद हाम्रा हरेक पाइला समृद्ध देश निर्माण गर्ने र जनतालाई सुखी बनाउने काममा अग्रसर छन् । विकास र समृद्धिको यस राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकतावद्ध प्रयास सहयोगी हुने छ भन्ने मैले विश्वास लिएको छु ।’सन्देशमा उल्लेख छ । 

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल स्काउटको सङ्गठनलाई संविधान अनुकूल बनाउन सातै प्रदेश र ७५३ वटै स्थानीय पालिकामा विस्तार गरिएको बताउँदै नेपाल एसिया प्रशान्त क्षेत्रमै एउटा नमुना र अब्बल स्काउट सदस्य राष्ट्र बन्न सफल भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले  आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाई सञ्चालन गरिने बताउनुभएको छ  ।  


ताजा खबर