सरकारको प्राथमिकता : जीउधनको सुरक्षा र निर्वाचनको तयारी

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले कोरोना नियन्त्रणका लागि नागरिकलाई खोप उपलब्ध गराई जनताको जीउधनको सुरक्षा र निर्वाचनको तयारी गर्नु सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।    

मन्त्रीमा नियुक्त भएको चौथो दिनमा मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारसँगको छलफलमा उहाँले महामारी रोकथाम, मनसुनजन्य विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम र आशन्न निर्वाचनलाई विश्वस्तरले विश्वसनीय ठान्ने गरी तयारीका लागि कार्ययोजना बनाउन मन्त्रालयले टोलीले काम गरिरहेको जानकारी दिनुभयो । 

 सञ्चारकर्मीलाई देशको स्वाधिनताको रक्षा र कानूनको पालनामा खबरदारीसहित साथ दिन आग्रह गर्दै मन्त्री अधिकारीले आफूले पदको कुनै दुरुपयोग नगरी इमान र विवेकका साथ देशको माटोको रक्षा र सुशासनका लागि दत्तचित्त भएर काम गर्ने प्रण गर्नुृभयो । ‘‘म यहाँ कमाउन आएको होइन, मलाई कुनै आर्थिक लाभ लिनु छैन ।

म गृह प्रशासनका क्षेत्रमा जनताले अनुभूत गर्ने गरी नयाँ केही छाप दिएर ख्याति कमाउन चाहान्छु ।’’ मन्त्रालयका सचिव महेश्वर न्यौपानेलगायत अधिकारीका साथ प्रस्तुत मन्त्री अधिकारीले भन्नुभयो, ‘‘मलाई गृह प्रशासन र सुरक्षा निकायमा कुनै दबाब र प्रभाव विस्तार गर्नु पनि छैन । कतिपय नेताबाट दबाब र प्रभाव त हुँदोरहेछ तर म नियम र कानूनअनुसार प्रणालीले काम गरोस् भन्ने चाहान्छु ।’’    

मन्त्री अधिकारीलाई पत्रकारहरुले सीमा क्षेत्रमा खटाइएका सशस्त्र प्रहरीका तल्लो तहका कर्मचारीलाई स्रोत, साधन र प्रोत्साहन दिन, जनताले सुशासन र सुरक्षाको अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका थिए ।   –रासस


ताजा खबर