रोल्पामा साङ्केतिक रुपमा भूमेपर्व मनाइयो

रोल्पा जिल्लामा विशेष गरी मगर समुदायले मात्र मनाउने भुमेपर्व थबाङ, सुनछहरी गाउँपालिका साथै अन्य विभिन्न गाउँहरूमा धूमधामका साथ मनाइने चाड यसपालि कोभिड–१९ महामारी रोगका कारण  सामान्य तरीकाले पुजारीबाट भूमिको पूजा गरेर साङ्केतिक रुपमा मनाइएको छ ।

भूमे पर्वमा विशेष गरी जमिनको पूजा गरिन्छ । वर्षेनी प्राकृतिक प्रकोप, विपत्तिबाट धनजनको क्षति नहोस् भन्ने आशयबाट भूमिको पूजा गर्ने गरिन्छ । भूमि देवता रिसाउँदा यस्ता अनिष्ट हुने गरेको सामाजिक धार्मिक मूल्य र मान्यताका रही आएको छ ।  

भूमिको पूजा गरियो  भने भूमि देवता खुसी भएपछि प्राकृतिक विपत्ति बेहोर्न नपर्ने जनविश्वासका साथ भूमे पर्वको शुरुवात गरिएको मान्यता छ ।

यस पर्वमा युवा युवती, बुढाबुढी हजारौँ व्यक्तिहरू एकैचोटी नाच्न सकिने नोको बाङ्गे नाचको आयोजना गरेर विगतका वर्षहरूमा मनाउने गरिन्थ्यो तर यस वर्ष कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम गरिएन भने वसन्त ऋतुमा विवाह गर्ने जोडीको दाम्पत्य जीवन सधैँ सुखी, खुसी रहने विश्वासका साथै धार्मिक संस्कारलाई बचाएर राख्नको लागी भुम्या पर्वको शुरुवात गरिएको मगर समुदायका अग्रज अगुवाहरूको भनाई रहेको छ ।  –रासस


ताजा खबर