सुरक्षा मापदण्ड सहित वित्तीय संस्था खोल्न निर्देशन

बैङ्क तथा वित्तीय संस्थाका लागि नेपाल राष्ट्र बैङ्कले सोमबार नयाँ निर्देशन जारी गरेको छ ।

राष्ट्र बैङ्कले सोमबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैङ्क तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।

कोरोनाको संक्रमण जोखिम न्यूनीकरणको लागि निषेधाज्ञा जारी भएका स्थानमा बैङ्क तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैङ्कले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

राष्ट्र बैङ्कले जारी गरेको निर्देशन अनुसार आलोपालो गरी सेवा प्रदान गर्दा बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिनु पर्नेछ । –रासस


ताजा खबर