यूरो कपमा स्वीटजरल्याण्ड र वेल्सले बराबरी खेले

यूरो कप फुटबल २०२० अन्तगर्तको दोस्रो खेलमा स्वीटजरल्याण्डलाई वेल्सले बराबरीमा रोकेको छ ।

समूह ए अन्तगर्तको दोस्रो खेलमा स्वीटजरल्याण्ड र वेल्सबीचको खेल १–१ को बराबरीमा रोकिदा दुबैले अङ्क बाँडेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको सुरुवातमै स्वीटजरल्याण्डले मारियो इम्बोलोको गोलमा सुरुवाती अग्रता लियो । तर ७४ औं मिनेटमा वेल्सका केफर मूरले गोल गर्दै वेल्सलाई खेलमा पुनरागमन गराउनुभयो । खेलको उत्तराद्र्धसम्म दुबै टोलिले गोल थप्न नसकेपछि खेल बराबरीमा टुंगियो ।

यसअघि गए राति सम्पन्न उद्घाटन खेलमा इटालीले टर्कीमाथि ३–० को जित हात पार्यो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा इटालीले दोस्रो हाफमा दुई गोल गर्यो ।

टर्कीका डेमिरलले ५३ औं मिनेटमा आफ्नै पोष्टमा गोल गरेपछि इटालीले १–० को अग्रता लियो । ६६ औं मिनेटमा सिरो इमोबिलले गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो । लोरेञ्जो इन्सिग्नेले ७९ औं मिनेटमा गोल थप्दा इटालीले उद्घाटन खेलमा टर्कीमाथि ३–० को सहज जित हात पार्न सफल भयो ।

जितसँगै समूह ए मा रहेको इटालीले तीन अङ्क बटुलेको छ ।

प्रतियोगिता अबधिभरि यूरोपको बिभिन्न ११ शहरमा ५१ खेल आगामी महिनासम्म खेलाइनेछ । –रोयटर्स


ताजा खबर