विश्वकप छनोटमा नेपाल जोर्डनसँग ३-० गोलले पराजित

 विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको छ ।

जोर्डनले नेपालमाथि जितसँगै समूह बी को दोस्रो स्थानमा उक्लेको छ । उसले छ खेलबाट १३ अङ्क जोडेको छ । कुवेतले समान छ खेलबाट मात्र १० अङ्क जोडेको हो ।

जोर्डनको छनोट खेलमा लगातार यो चौथो जित हो । कुवेतस्थित अल जबार अन्तर्राष्ट्रिय रङशालामा सम्पन्न खेलमा जोर्डनले तीन वटै गोल फ्रि किक र पेनाल्टी मार्फत् नै सम्भब बनायो ।

पहिलो हाफको सुरु देखिनै जोर्डनले आक्रामक खेल पस्केको थियो । तर २३ औं मिनेटमा मात्रै उसले गोलको खाता खोल्न सक्यो । पहिलो हाफसम्म १–० को अग्रता बनाएको जोर्डनले दोस्रो हाफको सुरुवातमै गोल थप्दै २–० को अग्रता लिएको थियो ।

६७ औं मिनेटमा एजान अल अरबले गोल गर्दै जोर्डनको अग्रता ३-० पारेका थिए । सो गोल नै जोर्डनको नेपालमाथि जितका लागि पर्याप्त भयो ।

३५ औं मिनेटमा सुनिल बलले पेनाल्टी क्षेत्रभित्र दिएको बललाई अञ्जन विष्टले भेटन नसक्दा नेपाल भने गोल गर्ने अबसरबाट बञ्चित हुन पुग्यो ।

नेपालले अब छनोटको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाको सामना गर्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल जुन ११ मा हुनेछ । सो खेलपछि कुवेत र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ । कुवेत र जोर्डनबीचको सो खेलले विश्वकपका लागि छनोट हुने टोलिको समीकरण पुरा गर्नेछ ।


ताजा खबर