एमाले एकताका लागि अध्यक्ष ओलीको छ बुँदे प्रस्ताव

पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वावस्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा

 सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउन २०७५ जेठ ३ अघिको पूर्वावस्थाबाट अगाडि बढाउन तयार रहेको घोषणा गर्नुभएको छ ।

एमालेका नेताहरू झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू असन्तुष्ट भई पार्टी विभाजनको स्थितिमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आज छ बुँदे प्रस्तावसहित सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको हो ।

उहाँले नेकपा (माओवादी केन्द्र) सँगको एकतापछि निर्मित तत्कालीन नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल एमालेमा आएका नेतासहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरू क्रियाशील हुने जनाउनुभएको छ ।

राष्ट्रिय राजनीतिक उतार चढावसँगै पार्टी हित विपरीत लागेको भन्दै विभिन्न नेताहरूलाई कारबाहीको क्रम चलेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरूले अनौपचारिक रूपमा एकताका लागि पहल गरेका थिए । त्यसैको प्रत्युत्तरमा आज अध्यक्ष ओलीले पार्टी कमिटी र जनसङ्गठनहरू मूलभूतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने तथा यसको व्यवस्थापनका लागि कार्यदल गठन गरिने पनि बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्रीबाट आफूलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटबाट पार्टीका निवर्तमान सांसदहरूले हस्ताक्षर फिर्ता हुनुपर्ने पनि प्रस्ताव गर्नुभएको छ । अध्यक्ष ओलीले यसबीचमा भएका कारबाही फिर्ता गरिने र कुनै पूर्वाग्रह र भेदभाव नराखिने पनि स्पष्ट गर्नुभएको छ ।
प्रस्ताव विस्तृतमा :
प्रिय कमरेडहरू ।    
नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्था र पार्टी एकताका विषयमा पार्टी पङ्क्ति एवं आम जनसमुदायबाट समेत व्यक्त भएका चासो, सरोकार र चिन्तालाई मैले गम्भीरतापूर्वक लिएको छु । पचास वर्ष भन्दा पहिले विभाजन र विखण्डनको दुःखद शृङ्खलाबाट गुज्रिरहेको कम्युनिष्ट आन्दोलनलाई आधारभूत तहबाटै पुनर्गठन एवं एकताबद्ध गर्न नयाँ अभियान सुरुवात गर्ने सीमित व्यक्तिहरूमध्ये एक हुनुको नाताले मैले पार्टी एकताको महत्त्व र खाँचोलाई गहिरो गरी बुझेको छु ।

म सधैभरि कम्युनिष्ट आन्दोलनको एकता, लोकतान्त्रिक शक्तिहरूको एकता र राष्ट्रिय एकताको पक्षमा रहँदै आएँ । भोलिका दिनमा पनि म यसैका निम्ति क्रियाशील रहने छु ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ हामीले २०७५ जेठमा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरेका थियौँ। एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रूपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहोर्‍याइरहन आवश्यक देख्दिनँ ।    तर त्यो एकीकरण निष्कर्षमा पुग्न सकेन । यसका कारणहरू बारे यहाँ धेरै भन्न चाहन्नँ ।

२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भङ्ग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन् । तर यो यथार्थ होइन । सर्वोच्च अदालतले त नेपाल कम्युुनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेको हुनाले त्यससँग नाम जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको हो । एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । र यसका लागि समय पनि दिएको हो ।

पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफै पहल पनि लिएको हुँ । तर पुष्पकमल दाहाल ‘प्रचण्ड‘ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन । त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरूको साझा पार्टी, एकताको विरासत बोकेको पार्टीका रूपमा नेकपा ९एमाले० लाई नयाँ स्वरूप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौँ ।

नेकपा (एमाले) को निर्माण र विकासमा हजारौँ योद्धाहरूको पसिना, त्याग र बलिदान अन्तर निहित छ । यस पार्टीप्रति जनताको अपार विश्वास छ । नेकपा ९एमाले० लाई सुदृढ गरेर मात्रै कम्युनिष्ट आन्दोलनलाई बलियो र एकताबद्ध बनाउन सकिन्छ । यसो गरेर मात्रै मुलुकको लोकतन्त्र सुदृढ हुन सक्छ । त्यसको जगमा मात्रै राष्ट्र एकताबद्ध र सबल हुन सक्छ । विकसित र समृद्ध हुन सक्छ । त्यसैले यस पार्टीलाई किमार्थ कमजोर बन्न दिनु हुँदैन ।

आज नेकपा (एमाले) को आन्तरिक जीवनमा समस्याहरू देखा परेका छन् । ती समस्याहरूबाट पार्टी पङ्क्ति मात्रै होइन, राजनीतिक स्थिरता र लोकतन्त्रका पक्षधर आम जनसमुदाय समेत चिन्तित छन् । परिस्थितिको गाम्भीर्यलाई ध्यानमा राखेर पार्टी अध्यक्षका हैसियतले मैले एकताका निम्ति गरेको अथक प्रयास र निरन्तर पहलबारे यहाँहरू सबै परिचित हुनुहुन्छ । तर हाम्रा अनवरत प्रयासका बाबजुद जे नहुनुपथ्र्यो, त्यही भइरहेको छ । जे हुनु पर्थ्यो, त्यो भने भइरहेको छैन ।

पार्टी एकताको मुख्य आधार पार्टीका स्थापित सिद्धान्त र नीति, विधि र पद्धति एवं मूल्य र मान्यताहरू हुन् । राष्ट्र, जनता र आन्दोलनको हितलाई केन्द्रबिन्दुमा राखेर असल मनसायले अगाडि बढ्ने हो भने हामीबीचका समस्याहरू समाधान हुन नसक्ने म कुनै कारण देख्दिनँ । त्यसका लागि सबैभन्दा पहिले हामी एक ठाउँमा उभिन जरुरी छ । एकताको लक्ष्य राखेर सकारात्मक र सिर्जनात्मक योगदान गर्न आवश्यक छ ।

तसर्थ, पार्टी एकताको पक्षमा निरन्तर पहल गर्ने कमरेडहरूका भावना र सुझावलाई समेत ध्यानमा राखेर पार्टीभित्रका समस्या समाधान गर्न र पार्टी एकतालाई रक्षा एवं सुदृढ गर्न देहायको प्रस्तावसहित आह्वान गर्दछु :-

१. नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।

२. मातहतका पार्टी कमिटी र जनसङ्गठनहरू मूलभूत रूपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।

३.सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।

४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले)का निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुने छ ।

५. यस बीचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।

६. नेकपा (एमाले)लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपले एकताबद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरूले रचनात्मक योगदान गर्नु हुने छ ।

केपी शर्मा ओली
अध्यक्ष


ताजा खबर