‘केहि विशिष्ट कारणहरु बाहेक मुटु रोगीले कोरोना खोप लगाउन हुन्छ’ : प्रा.डा.भगवान कोईराला

नेपालमा कोरोना माहामारीको दोस्रो लहरले जनजीवन आक्रान्त भइरहेको छ । निषेधाज्ञा जारी भएको पनि महिना दिन पुग्न लागेको छ । निषेधाज्ञा फेरि पनि थपिने संकेत देखिएको छ । यो अवस्थामा सबै मानिस घरभित्र नै बस्नु बाहेकको अर्को विकल्प छैन । त्यसो त यो महामारीमा बिभिन्न प्रकारका दीर्घरोगी पनि घरभित्रै बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा मुटुरोगका विरामी र मुटुरोग लाग्नबाट बच्नका लागि केकस्ता कुरामा ध्यान दिन सकिन्छ ? भन्ने बिषयमा बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा. डा.भगवान कोईरालासँगको सफल कुराकानीको सम्पादित अंश ।

घरमा बसीरहेका मुटुरोगीहरुको कुरा गर्नुपर्दा पहिलो कुरा त यो समयमा उहाँहरुलाई अझ धेरै सुभाव सल्लाहको आवश्यकता पर्दछ । उहाँहरुलाई कोभिडको बेला अलि बढि जोखिम हुन्छ । घरमा बस्दा उहाँहरुले सामाजिक दुरीको बिशेष ख्याल गरेर बस्नुपर्ने आवश्यकता हुन्छ । बाहिर गइरहने मान्छेसँग नजिक पर्नु हुँदैन । यस्तै पटक पटक साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने जस्ता सुरक्षाका मापदण्डहरु त पालना गर्नै पर्छ ।


मुटुका बिरामीहरु सकेसम्म बाहिर नजाने यदि बाहिर जानै पर्ने अवस्था भए मास्क लगाउने, ६ फिटको सामाजिक दुरी कायम गरेर हिड्ने, सेनिटाईजर पटक पटक प्रयोग गर्ने गर्नुपर्दछ । मुटुरोगीका बिरामीहरुले नियमानुसार खोप लगाउन मिल्ने छ भने लगाउँदा हुन्छ । मुटुरोग भएकै कारणले नलगाउने भन्ने हुँदैन । मुटुरोग लागेकोे भए पनि आफूलाई मुटुको क्षमताले दिएसम्म सधै स्वस्थ राख्नको लागि शारीरिक व्यायाम गर्नुपर्दछ । धुम्रपान र मध्यपान त मुटुरोगिले गर्दैनन् नै होला तर पनि गरेको भए मध्यपान र धुम्रपान गर्नु हुँदैन ।


कोरोना खोप लगाउँन नहुने केहि विशिष्ट कारणहरु छन्, जस्तो कि रोग प्रतिरोध क्षमता एक्दमै कम भएको बेलामा, ज्वरो हनहनी आईराखेको बेलामा मात्र हो नलाउने नत्र त मुटु रोग भएकै कारणले भ्याक्सिन नलगाउने भन्ने चाहिँ हुदैन । खोप लागाईसकेपछि अरु सामान्य मानिसलाई जस्तै साईड ईफेक्ट मुटुका विरामीहरुलाई पनि हुन सक्छ ।


कोरोना संक्रमण बढिरहदा मुटुका बिरामीहरुलाई थप जोखिम भैरहेको छ तर संक्रमण रोकथामका लागि सरकारले अहिले जे जति पहल गरेको छ तिनीहरु धेरै हदसम्म सकारात्मक छन् । तर रोकथामको लागि पहिलो लहर आउँदा जति पालिकाहरु पनि तातेर लागेका थिए अहिले दोस्रो लहरमा पालिकाहरुको सक्रियता पनि कम देखिएको छ । जसरी पहिले बाहिरबाट आउने मानिसलाई क्वारेन्टाईनमा राखेर पीसीआर गरेर मात्र घर जान दिने गरिन्थ्यो यसपाली त्यसो नभएको देखियो ।

पालिकाहरुले निःशुल्क परीक्षण गराएर संक्रमितलाई आईसालेशनमा राख्न सक्नुपथ्र्यो यसो गर्न सकेको भए कोरोना भाईरसको चेन ब्रेक गर्न सजिलो हुने थियो । घरमा बसीरहदा शारीरिक व्यायामको कमी र चिल्लो खाने कुराहरु बढि खाने गर्दा सामान्य मान्छे पनि मुटुरोगको सिकार बन्न सक्छ । त्यसैले घरमै बस्दा पनि शारिरीक व्यायाम गर्ने , बढि चिल्लो, पिरो र मसलादार परीकारहरु खानु हुँदैन । यसले झन जोखिम निम्त्याउँछ ।


अहिल हाम्रो नेपालमा दैनिक २० ÷२२ हजार परीक्षण भैरहेको छ यसलाई जस्तो प्रविधि प्रयोग गरेर भए पनि बढाउनुपर्दछ । परीक्षण नबढाउँदा मानिसले आफूमा कोरोना संंक्रमण छ की छैन थाहा पाउदैन र उसले अरु मानीसमा पनि संक्रमण फैलाउन सक्ने संभावना हुन्छ । भाईरसको चेन ब्रेक गर्न संघीय सरकारले पालिकाहरुसँग समन्वय गरेर तत्काल यो कार्य गर्नुपर्ने देखिन्छ ।


मुटुरोगी वा अन्य रोगीहरुलाई अहिले बाहिर हिड्न गाह्रो भयो अस्पताल आउन गाह्रो भयो भने चाहीँ स्वास्थ्यमन्त्रालयको हटलाईन नम्बर १११५ र ११३३ मा सम्पर्क गर्न पनि सक्नुहुन्छ र अर्को चिकित्सकको समुहले पनि हटलाईनमार्फत सल्लाह दिने गरेको छ । अर्को ११५६ नम्बरमा जतिबेला पनि फोन गरेर सोध्न सकिनेछ । आधिकारिक व्यक्ति र आधिकारीक संस्थाको जानकारी बाहेकको अन्य सामाजिक सञ्जालका हावादारी कुराको पछि लाग्नु हुँदैन । यो एकदमै महत्वपूर्ण कुरा हो, त्यसकारण यसमा ख्याल गर्नुहोला । यसले तपाईहरुको मनोबलमा नराम्रो असर मार्न सक्दछ ।

मुटुका बिरामीले अहिलेको समयमा सधै खाईरहने साधारण खाना नै खानुपर्दछ । म दोहोर्याएर फेरि भन्छु कि मुटुका बिरामीले बिशेषगरी यो समयमा शारिरीक व्यायाममा नै ध्यान दिनुपर्दछ । मुटुका विरामीले आफ्नो श्वासप्रश्वासमा पनि ख्याल गर्नुपर्दछ । अहिलेसम्म कुनै औषधि, जडीबुटि खाएर कोरोना रोकथाम हुन्छ भन्ने छैन, त्यसकारण मुटुका बिरामीहरुका लागि चिकित्सकहरुले खान मिल्ने भनेका कुराहरु बाहेक अरु नखानका लागि म आग्रह गर्दुछु । जसले गर्दा तपाईको स्वास्थ्य थप राम्रो हुन्छ । –रासस


ताजा खबर