‘सरकार निदाएको नाटक नगर्’

~शोभा पण्डे सिलवाल

कोरोनाको कहरले  छटपटाई, जनताले अक्सिजन र औषधी माग्दा

मन्‍त्रीले लास जलाउनेको भत्ता बढाउने , दउराको अभाव नहोस् भन्दा ।

नेपालमा काम कुरो एकातिर ,कुम्लो बोकी ठिमीतिर भए जस्तो लाग्यो

प्राथमिकतामा जनता परेनन् कि जस्तो यहाँको सरकार  किन चुक्यो ?

एक सिलिन्डर अक्सिजन पैसा तिरेर किन्छु भन्दा दिन नसक्ने बेकम्माले

एक हजार लास उठाउनेको भत्ता बढाउने कुरो गर्छ निर्दयी निकम्माले ।

वाह ! सरकार एक मुठी श्वास नदिने तिम्रो  नियत कति रहेछ महान् ?

कोरोना कहरको पीडा  भोग्‍न नियतिले पार्ला मै हूँ भन्ने कत्ति नठान् ।

असामान्‍य स्थिति छ घरमा काम गर्ने सबै सोत्तर, हाम्रा आफ्नै मान्‍छे

बाबा ,आमा,दाजु ,भाइ ,हाम्रा भेना  , बहिनी   कतिको लास गन्ने?

आम नेपालीलाई घरघरमा खप्‍न  आज परेको छ  असह्‍य चोट

अबदेखि हे सत्ता लम्पट ! हाम्रो घर र टोलमा नआऊ माग्न भोट ।

घरघरमा सङ्क्रमितको सङ्ख्या बढ्दा मृतक सङ्ख्या बढ्या बेला

सरकार भने राजनीतिको फोहोरी खेलमा चुर्लुम्म डुबेको यतिबेला ।   

जनता २१सौँ शदीमा पनि बसेका छन् भगवान् को भरोसामा 

विश्व स्वास्थ्य सङ्गठनले  बरू रााख्‍यो नेपाललाई रेड  जोनमा ।

विश्वलाई नेपालको चिन्‍ता  हुँदा नेपाल सरकारलाई किन भएन ?

ढुङ्गाका मुटु भएकाहरूलाई सत्ता बाहेक जनताको चासो भएन ।

सरकारी अस्पतालमा गए बेड र अक्सिजन नभएर ज्यानै रहँदैन

निजी अस्पतालमा उपचार गर्न  गए गरिबको घरै रहँदैन । 

विषम परिस्थितिमा सरकार नागरिकको स्वास्थ्यमा  खेलबाड नगर 

जनतामा  आशाको किरण जगा निदाएको नाटक नगर् । नाटक नगर् ।


ताजा खबर