नेपाल सुपर लिग फुटबल काठमाडौं रेजर्सले जित्यो

काठमाडौं रेजर्स प्रथम नेपाल सुपर लिग फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको विजेता भएको छ ।

उपाधिको लागि भएको होडमा काठमाडौं रेजर्सले धनगढीलाई हराएर नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइजको च्याम्पियन बनेको हो ।

उपाधिसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपियाँ र ट्रफी हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको धनगढी एफसीले १५ लाख रुपियाँबाट पुरस्कृत भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज सम्पन्न खेलमा काठमाडौंले धनगढीमाथि १–० को जित हात पार्यो । काठमाडौंले फाइनलमा जितसँगै लिग चरणमा ०–३ र पहिलो प्ले अफमा १–२ ले धनगढीसँग बेहोरेको हारको बदला समेत पुरा गर्यो ।

काठमाडौंको जितमा विदेशी खेलाडी मेसौके ओलुमोउले गर्नुभएको एक मात्र गोल नै उपाधि दिलाउन पर्याप्त भयो । उहाँले पहिलो हाफको २१ औं मिनेटमा गोल गर्नुभयो । प्रतियोगितामा काठमाडौंले १४ औं गोल गरेकोमा मेसौकेको यो आठौं गोल हो ।

विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठको पासलाई ओलुमोउले उत्कृष्ट फिनिश दिदै गोल गर्नुभयो ।


बैशाख ११ बाट सुरु भएको प्रतियोगिताको लिग चरणमा २१ खेल, दुई प्ले अफ र एक एलिमिनेटर र एक फाइनल गरी कुल २५ खेल खेलाइएको छ । प्रतियोगितामा सात टोलिको सहभागिता रहेको थियो ।


ताजा खबर