राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन स्थगित भएको छ ।

शनिबार बसेको राप्रपाको त्रय अध्यक्षसहितको बैठकले जेठ २२ देखि २५ सम्म काठमाडौँमा हुने भनिएको महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण तिब्र गतिमा भइरहेकोले हाललाई महाधिवेशन स्थगित भएको राप्रपाले जनाएको छ ।

राप्रपा बैठकले गरेका निर्णयहरु :

१. कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै २०७८ जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको छ । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने छ ।

२. कोरोना भाइरस संक्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ । संक्रमित बिरामीका लागि अस्पतालहरुमा बेडको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आइसियु, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेको अवस्थामा निजी क्षेत्रसंगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आवश्यक तदारुकताका लागि राप्रपा सरकारसंग माग गर्दछ । कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचारमा कठिनाइ भइरहेको र उपचार नपाएर मृत्युवरण समेत गर्नुपर्ने दुःखदायी अवस्था दुर्भाग्यपूर्ण छ, नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामथ्र्य प्रयोग गर्न राप्रपा सरकारसंग जोडदार माग गर्दछ ।

कोभिड–१९ संग जुधिरहेका आम जनताको सेवामा सुरक्षित रहि परिचालित हुन पार्टीका सबै तहका नेता, कार्यकर्तालाई राप्रपा हार्दिक अपिल गर्दछ ।

३. पार्टीको निर्देशन समिति ५ दिन भित्र गठन गर्ने निर्णय गरियो ।


ताजा खबर