अमेरिकामा पनि चार लाख ७३ हजार बढि बेरोजगार

संयुक्त राज्य अमेरिकामा रोजगारी गुमाएकाहरूको सङ्ख्या निरन्तर ओरालो लागेको छ ।

कोरोनाभाइरस महामारीका कारण गत वर्षको सुरुमा ठुलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ । पछिल्लो विवरणमा चार लाख ७३ हजार व्यक्तिले मात्र हाल रोजगारी गुमाएको विभागको सर्भेले देखाएको छ ।

श्रम तथ्याङ्क ब्युरोले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा बेरोजगारी भत्ताका लागि आवेदन गर्नेहरूको सङ्ख्यामा ३४ हजारले कमी आएको उल्लेख छ । अघिल्लो साता करिब पाँच लाख ७ हजार व्यक्तिले बेरोजगारी भत्ताका लागि आवेदन गरेकामा पछिल्लो साता चार लाख ७३ हजारले मात्र आवेदन दिएका छन् ।

यो गत वर्ष सन् २०२० को मार्च १४ मा बेरोजगारी दाबी गरेयता सबैभन्दा कम हो । त्यस बखत कूल दुई लाख ५६ हजारले बेरोजगारी भत्ताका लागि दाबी गरेका थिए ।

यसैबीच, राज्य र सङ्घीय दुवैतर्फका कार्यक्रमबाट सुविधा दाबी गर्ने व्यक्तिको कूल सङ्ख्या छ लाख ९६ हजारले कमी आएर एक करोड ६८ लाख ५५ हजार रहेको पाइएको छ ।

रिपब्लिकन शासित धेरै वटा राज्यले सङ्घीय बेरोजगार कार्यक्रमलाई जुनभित्रै अन्त्य गर्ने घोषणा गरेका छन् । यो कार्यक्रम आगामी सेप्टेम्बरभित्र समाप्त हुँदै छ । सङ्घीय सहायता कार्यक्रममा राज्यबाट प्रदान गरिने सुविधाका अतिरिक्त साप्ताहिक ३०० अमेरिकी डलरको बेरोजगार भत्ताको व्यवस्था गरिएको छ ।

गभर्नरहरूको भनाइमा सङ्घीय सरकारले उपलब्ध गराएको भत्ताका कारण मानिसहरूले काम खोज्न अभिरुचि नदेखाएको र श्रमिकको अभाव हुन थालेको छ ।

अमेरिकी अर्थमन्त्री जानेट येलेनले गभर्नरहरूका तर्कको खण्डन गर्नु भएको छ । हालै ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जेनेटले बालबच्चा र वृद्धवृद्धाका स्याहारका साथै महामारीको त्रास तथा व्यक्तिगत स्वास्थ्य समस्याले पनि मानिसहरू काममा जान हच्किइरहेका र त्यो स्वाभाविक रहेको बताउनुभयो । –रासस/सिन्ह्वा


ताजा खबर