धनगढी एफसी नेपाल सुपर लिगको फाइनल

काठमाडौं रेजर्सलाई पराजित गर्दै धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।

खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा खेलको १०८ औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशाल राइले गोल गर्दै टोलीलाई उपाधि नजिक पुर्याए । त्यसअघि खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाएका थिए ।

तर, खेलको ७८ औं मिनेटमा पुजन उपरकोटीले उत्कृष्ट बाइसाइकल गोल गर्दा धनगढीले बराबरी गोल फर्काएको थियो । खेलमा धनगढीका फ्रान्कलिन कुइटे सुपर प्लेयर अफ दि म्याच घोषित भए ।

त्यस्तै इमर्जिङ प्लेयर धनगढीकै सौजन राई घोषित भए । पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।


ताजा खबर