प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा विश्वासको मत लिने भन्दा पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले विश्वासको मत लिन प्रधानमन्त्रीले विघटन गरेको संसद्मा नै अपिल गरिरहनु भएको र मौका पाए फेरी विघटन गर्ने सोचमा रहेको आरोप लगाउनुभयो ।अध्यक्ष प्रचण्डले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बन्ने सम्भावना यही सदनबाट सम्भव रहेको र  सम्भावना खोजिने बताउनुभयो ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीले संविधान, विधि र कानुन विपरीत स्वेच्छाचारी ढङ्गले अघि बढेको, संसद् विघटन जस्ता असंवैधानिक कदम चालेको भन्दै सबैलाई विश्वासको प्रस्तावको विपक्षमा मत हाल्न आग्रह समेत गर्नुभयो ।

अध्यक्ष दाहालले कोरोनाको महामारी नियन्त्रणका लागि आफ्नो पार्टीबाट पूर्ण सहयोग रहेको बताउँदै प्रधानमन्त्री आफु अनुशासनमा नबसेर सभा सम्मेलन गरेर हिँडेका कारण कोरोना धेरै फैलिएको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले बालुवाटारमा बसेर धेरै विकास निर्माणका कामको शिलान्यास गरेको भए पनि बजेट र त्यसको निर्माणमा ध्यान नदिएको र प्रधानमन्त्रीले भने जस्तो जनताले महसुस गर्न नसकेको समेत बताउनुभयो । –रासस


ताजा खबर