काठमाडौं उपत्यकामा अक्सिजन वितरण सीसीएमसीले गर्ने

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले वितरण गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितरण गर्दै आएको अक्सिजन काठमाडौं उपत्यकाका लागि सिसिएमसीले वितरण गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गोरखापत्रलाई जानकारी दिनुभयो । उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले सिसिएमसीले अक्सिजन वितरण गर्ने निर्णय गरेपछि मन्त्रालयले यसको व्यवस्थापनको काम स्थगित गरेको उहाँले बताउनुभयो ।

अक्सिजन अभावपछि विदेशी मुलुकबाट ५० हजार खाली सिलिण्डर ल्याउने काम मन्त्रालयले गर्दे आएको छ । नेपाल प्रहरीको सहयोगमा खाली सिलिण्डर खोजी तथा बजार अनुगमन गरी सिलिण्डरको थप व्यवस्थापन समेत गरी विरामीका लागि अक्सिजन पर्याप्त बनाउन सिसिएमसीले काम गर्दे आएको जनाएको छ ।

सोमबार खाली अक्सिजन सिलिण्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बढी जहाज बेइजिङ उड्ने तयारी थालेको मन्त्रालयले जनाएको छ । अस्पतालहरुमा अक्सिजनको थप व्यवस्थापन र अक्सिजन जरुरी पर्ने सबै विरामीलाई अक्सिजन पु-याउन सिसिएमसीले व्यवस्थापनको काम शुरु गरेको संयोजक खगराज बरालले बताउनुभयो ।


ताजा खबर