श्रमिक एकता, सङ्घर्ष र वीरताको प्रतीक मे दिवस

  • मोहनमान स्वाँर

हरेक वर्षको मे १ का दिन विश्वभर श्रमिकको एकता, सङ्घर्ष र वीरताको प्रतीकका रूपमा श्रमिक दिवस मनाइन्छ ।

यो दिवस लामो सङ्घर्ष, बलिदान र गौरवमय इतिहासले भरिपूर्ण छ । सुरु-सुरुमा यसलाई ‘मे डे’का रूपमा मनाउने गरिन्थ्यो । यसको सुरूवात विशेषगरी औद्योगिक क्रान्तिपश्चात् भएको पाइन्छ । वर्तमान अवस्थासम्म आइपुग्दा श्रमिक पेसाकर्मीका गौरवपूर्ण इतिहास बोकेको मे दिवस विभाजित र थुप्रै चुनौतीका सामु खडा भएको छ । अहिले कोरोना भाइरसको सामना गर्दै नयाँ ढङ्गले अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ । अहिले यस दिनले विश्वलाई एउटा नयाँ सन्देश दिन आवश्यक छ ।

मे डे शब्द फ्रेन्च भाषाको ‘डाइडर’बाट उत्पत्ति भएको हो र जसको अर्थ ‘सहयोग गर’ भन्ने हुन्छ । प्राचीन समयमा यसलाई सहयोगको अपेक्षा, युरोपतिर चाडबाडका रूपमा मनाइने चलन थियो । वसन्त ऋतुको आगमनसँग सम्बन्धित रहेकाले यसलाई वसन्त ऋतुको स्वागतका रूपमा पनि मनाइएको पाइन्छ । अर्थात् यसलाई उज्यालो, जीवन र जगत्को प्रतीकका रूपमा मनाउने गरिन्थ्यो । अठारौँ शताब्दीको आरम्भतिर युरोप र अमेरिकातिर औद्योगिक गतिविधि बढ्दै गइसकेपछि मालिक र मजदुरबीच अन्तरविरोध चर्कंदै जान थाल्यो । त्यसपछि मजदुरले सङ्गठित र असङ्गठित रूपमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका माग राखी आन्दोलन सुरू गरे ।

यो आन्दोलनले सन् १८८० को दशकमा ठोस रूप लियो । सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरका मजदुर आमहडताल गर्दै सडकमा उत्रिए । मजदुरमाथि व्यापक दमन भयो । कैयौँ मजदुर गिरफ्तार भए, कसैको हत्या भयो । तर पनि मजदुरको यो आन्दोलनले निरन्तरता लियो । करिब चार वर्षपछि तत्कालीन अमेरिकी सरकार मजदुरका माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरले विजय हासिल गरेको दिन मे १ लाई मे दिवसका रूपमा मनाउन सन् १८८९ मा भएको दोस्रो कम्युनिस्ट इन्टरनेसनल सम्मेलनले ऐङ्गेल्सको प्रस्तावना सर्वसम्मत पारित भयो । सन् १८९० मे १ देखि विश्वभर मे दिवस मनाउन थालियो । नेपालमा भने विक्रम संवत् २०६४ देखि सरकारी तवरले मे दिवस मनाउन थालियो ।

अन्तर्राष्ट्रिय स्थिति
वर्तमान अवस्थामा विश्वमा पुँजीवादी अर्थ व्यवस्थाभित्र आर्थिक सङ्कट बढ्दै गइरहेको छ । सबै देशमा आर्थिक मन्दी बढ्दै गएको छ । यसले गर्दा थुप्रै व्यापारिक संस्था बन्द हुने वा आपसमा गाभिनेक्रम बढ्दो छ । सार्वजनिक एवम् निजी क्षेत्रमा आर्थिक एवम् बाह्य ऋणमा वृद्धि भएको छ । यसले गर्दा न्यून आय, बढ्दो महँगी र व्यापारीकरणका कारण श्रमिक एवम् सर्वसाधारण जनताका आधारभूत आवश्यकताका वस्तु प्राप्तिमा समस्या भएको छ । त्यसैले आज गरिबी र बेरोजगारी बढ्दै गइरहेको छ । नयाँ औद्योगिक नीतिले गर्दा पनि श्रमिकका हक–अधिकार कटौती भएका छन् । सार्वजनिक क्षेत्रका सेवा शिक्षा, स्वास्थ्य, ऊर्जा र यातायात जस्ता सेवाहरू निजीकरण हुँदा सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । नयाँ प्रविधिको प्रयोग पुँजीपतिको हितमा र श्रमिक वर्गको आर्थिक शोषणमा केन्द्रित छ । यसरी विश्व साम्राज्यवाद र पुँजीवादले अख्तियार गरेको भूमण्डलीकरण एवम् उदारीकरणले श्रमिकका हक–अधिकार कटौती गरेका छन् । श्रमिकको सेवा सुरक्षा, वृत्ति विकास र ट्रेड युनियन अधिकारमा चुनौती खडा गरेको छ ।

राष्ट्रिय स्थिति
नेपालमा पनि यस्ता किसिमका चुनौती देखापरेका छन् । ट्रेड युनियन हक–अधिकारबारे नेपालका कानुन स्पष्ट छैनन् र निर्माणाधीन कानुन श्रममैत्री छैनन् । मुलुकको ठूलो सङ्ख्यामा श्रमिक विदेशमा छन् । बिदेसिएका श्रमिकलाई अन्तर्राष्ट्रिय कानुनअनुसार ट्रेड युनियन अधिकार प्रदान गरिएको छैन । आज कोरोना भाइरसको महामारीले विश्वमा लाखौँ मानिसको ज्यान गएको छ र विश्व पुनः लकडाउनमा जाने वातावरण सिर्जना हुँदै छ । आज थुप्रै श्रमिक पेशाकर्मीको स्वास्थ र सुरक्षाको समस्या देखिएको छ । श्रमिक एवम् सर्वसाधारण जनता कोरोनाको कहरभन्दा बढी भोकभोकै मर्ने अवस्थामा छन् ।

थुप्रै श्रमिक आफ्नो घर फर्कन नपाएर सडक एवम् जङ्गलको बास हुने स्थिति पुनः सिर्जना हुँदै छ । थुप्रैको रोजगारी गुमेको छ । यस्तो अवस्थामा पनि ट्रेड युनियनहरू एक ठाउँमा उभिएर श्रमिकका साझा समस्याबारेमा आवाज बुलन्द गर्न सकिरहेका छैनन् । ट्रेड युनियन आन्दोलन विभाजित छ । साम्राज्यवादी एवम् पुँजीवादी नीतिका सामु आत्मसमर्पण गरी उल्टो उनीहरूको नीतिमा मलजल थप्ने काम गरिरहेको छ । अर्कोतिर कतिले भने यी नीतिविरुद्ध आफ्ना आवाज बुलन्द गरिरहेका पनि छन् । तर, प्रभावकारी रूपमा प्रस्तुत भई परिणाम निकाल्न नसकिरहेको अवस्था छ । यस्तो जटिल परिस्थितिमा मे दिवसले दिने सन्देश के हुन सक्छ त ?

सन्देश
नेपालले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने अवस्थामा ती उपलब्धिमाथि धावा बोल्ने षड्यन्त्र भइरहेको छ । त्यसैले ट्रेड युनियनको एकताबद्ध प्रयासले यस किसिमका षड्यन्त्रलाई चिर्न आवश्यक छ । श्रममैत्री कानुन निर्माणका लागि ट्रेड युनियन आन्दोलन अघि बढाउन आवश्यक छ । ट्रेड युनियनबारेमा स्पष्ट दृष्टिकोण बनाउन पर्ने हुन्छ । यो आन्दोलन आफ्नो स्थापनाकालको जस्तो जड र वर्तमानको जस्तो एनजीओ÷आईएनजीओवादीजस्तो होइन । २१औँ शताब्दीको विचार बोक्ने वैचारिक, वर्गीय हतियारयुक्त, परिवर्तनकारी र अग्रगमनकारी ट्रेड युनियन आन्दोलनको विकास गर्ने, विज्ञानको नयाँ प्रविधि र विकासलाई आत्मसात् गरी ‘एकका लागि सबै र सबैका लागि एक’को नीति लिई अगाडि बढ्ने ट्रेड युनियनको आवश्यकता छ । ट्रेड युनियन आन्दोलन रूपान्तरकारी हुनुपर्छ । नेपालले परिकल्पना गरेको समृद्धि, विकास र समाजवादउन्मुख नेपालको यात्रासँग यहाँको ट्रेड युनियन आन्दोलनले सहकार्य गर्दै अघि बढ्नुपर्ने हुन्छ ।

वर्तमान अवस्थामा कोरोनाको महामारी पुनः बढ्दै छ । स्वदेशी र बिदेसिएका श्रमिक कामदार जो–जहाँ छन्, त्यहीँ सुरक्षित रही बस्ने वातावरण सिर्जना गर्नुपर्छ । सम्बन्धित देशको सरकारले स्वास्थ्य र सुरक्षा व्यवस्था गर्नुपर्ने र उनीहरूको पेशाको सुरक्षा र बाँच्नका लागि आधारभूत आवश्यकताको परिपूर्ति हुनुपर्ने खाँचो छ । श्रमिकको मानसिक र शारीरिक स्वास्थ्य कायम राख्ने वातावरण सिर्जना गर्नुपर्छ । कोरोनाको महामारीपछि बिदेसिएका थुप्रै श्रमिक पेशाकर्मी फर्कने सम्भावना छ, त्यसैले यसलाई नेपालले अवसरका रूपमा लिनुपर्छ । विदेशमा सिकेको सीपको सदुपयोग नेपालमा गर्न सक्ने वातावरणको सिर्जना गर्न सक्नुपर्छ । विदेशबाट स्वदेशमा फिर्ता हुने श्रमिकलाई नेपालको कृषि र पशुपालन व्यवसायमा आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्छ । नेपालमा बाँझो रहेको जमिनलाई कृषि र पशुपालन व्यवसायमा प्रयोग गर्न सक्ने कार्यक्रम सरकारले ल्याउनुपर्छ । प्रकृतिसँग समन्वय गरी विकासका मोडेल अगाडि बढाउने नीति ल्याई अघि बढ्नु आवश्यक छ । 

लेखक विश्व ट्रेड युनियन महासङ्घ आर्थिक नियन्त्रण कमिटीका सदस्य हुनुहुन्छ ।


ताजा खबर