‘राजनीतिक स्वार्थका लागि हिंसाको राजनीति मुलुकबाट समाप्त भयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताउनु भएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाले सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा आयोजना गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीमको समापनका अवसरमा प्रधानमन्त्री ओलीले राजनीतिक स्वार्थका लागि हिंसाको राजनीति मुलुकबाट समाप्त भएकाले नेपाल राजनीतिक रुपमा शान्तिको युगमा प्रवेश गरेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले मुलुकमा कुनै पनि प्रकारको विविधतालाई दुरुपयोग गरेर विभेद र भेदभाव हुनहुँदैन भन्नुहुँदै समझदारी र सहअस्तित्वको बाटोबाट अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूमा भएको आन्तरिक द्वन्द्वले मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले २०७७ कोरोना महामारी र केही नेताहरूको स्वार्थ बाहेक विकास निर्माणका कायमा उल्लेख्य प्रगति भएको जानकारी दिनुभयो ।

पछिल्लो समय भारत र नेपालमा कोरोनाको संक्रमण बढ्दै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह समेत गर्नुभयो ।प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरक्षा चुनौतीको दायरा बढ्दै गएको अवस्थामा मुलुकको आन्तरिक सुरक्षालाई कसरी मजबुत बनाउने भन्ने सवालमा तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, उद्देश्यले शिवपुरीस्थित कलेजमा २ हप्तासम्म सञ्चालित तालीममा सङ्घीय सरकारका विभिन्न मन्त्रालय, सुरक्षा निकाय, शैक्षिक संस्था, सञ्चार गृह लगायतबाट २५ जनाको सहभागिता थियो । –रासस


ताजा खबर