राष्ट्रिय फुटबलको प्रमुख प्रशिक्षकमा अब्दुल्ला अल्मुटाइरी

कुवेतका अब्दुल्ला अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुभएको छ । प्रशिक्षक अब्दुल्लालाई हालका लागि एक वर्षसम्म टिम हेर्ने जिम्मेवारी दिइएको छ । अरबी मूलका प्रशिक्षकले नेपाली फुटबलको जिम्मेवारी सम्हालेको यो पहिलो पटक हो ।


अब्दुल्ला व्यावसायिक फुटबल प्रशिक्षकको लाइसेन्स होल्डर र एएफसी कोचिङ इन्स्ट्रक्टर हुनुहुन्छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक कमिटीले अब्दुल्लालाई नेपाली राष्ट्रिय फुटबल प्रशिक्षकका लागि सिफारिस गरेको हो । कुवेत फुटबल सङ्घ र एन्फाबीच सन् २०१८ मा यस खेलको विकासका लागि प्राविधिक पक्षमा एकअर्कालाई सहयोग गर्न सम्झौता भएको थियो । सोहीअनुरूप एन्फाले अब्दुल्लालाई प्रशिक्षकका रूपमा नेपाल ल्याउन कतार फुटबल सङ्घसमक्ष अनुरोध गरेको थियो ।


अब्दुल्ला यसअघि कुवेत र साउदी अरबका क्लबहरूको प्रशिक्षकको भूमिकामा रहिसक्नुभएको छ । उहाँसँग किर्गिस्तानको यू–१६ टिमको प्रशिक्षकको अनुभव पनि छ । अब्दुल्लाले आइतबार नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक बन्न पाउँदा आफूलाई धेरै खुसी लागेको र यस कार्यलाई चुनौतीका रूपमा लिएको बताउनुभयो ।
एन्फाले आज आफूलाई सार्वजनिक गरेको कार्यक्रममा उहाँले भन्नुभयो– “नेपालीहरू मनले निकै राम्रा छन् । त्यसैले म नेपालमा काम गर्न पाउनेमा भएकोमा खुसी छु । यस जिम्मेवारीलई मैले चुनौतीका रूपमा लिएको छु । मलाई आशा छ मैले नेपाली फुटबल समर्थकलाई खुसी र सन्तुष्ट पार्नेछु, अब्दुल्लाले भन्नुभयो ।


अब्दुल्लाले नेपाली फुटबल टिमको प्रशिक्षकको जिम्मेवारी लिनुअघि नेपाल र यहाँका खेलाडीबारे अध्ययन र गृहकार्य गरेको जानकारी पनि दिनुभयो । हालै त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालका सबै खेल हेरेँ । हामीसँग राम्रा खेलाडीको जमात छ । मलाई आशा छ, त्रिदेशीय कपमा जस्तै हामीले अन्य प्रतियोगिता जितेर पनि खुसी मनाउनेछौँ, अब्दुल्लाको भनाइ छ ।


ताजा खबर