जनकपुरधाममा महजोडीलाई महामुर्खको उपाधि

मिथिला नाट्य कला परिषद्ले होली पर्वको उपलक्ष्यमा प्रत्येक वर्ष प्रदान गर्दै आएको महामुर्खको उपाधि नेपालकै चर्चित हास्यकलाकारद्वय मह जोडिलाई प्रदान गरेको छ ।

संस्थाले आज जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा हास्यकलाकारद्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई प्रदान गरेको छ । मिनापले वार्षिक रुपमा आयोजना गरिँदै आएको होली महोत्सव तथा महामूर्ख सम्मेलनमा उहाँहरूलाई सो उपाधि प्रदान गरिएको छ ।

प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले सो उपाधि बापत कदर पत्र, दोसल्ला, जानकी मन्दिरको प्रतिमा सहितको उपहार प्रदान गरेर महामूर्खबाट सम्मानित गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले मिथिला नाट्य कला परिषद्ले मैथिली भाषा, साहित्य तथा संस्कृतिको जर्गेनामा गरेको कामकाजको उच्च सम्मान गर्दै आफूलाई संस्थाले उपाधि प्रदान गरेर सम्मानित गरेकोमा आफूलाई गौरवान्वित बनाएको बताउनुभयो ।

सम्मानित व्यक्तिहरू मध्ये मदनकृष्ण श्रेष्ठले मिथिलामा आफूहरूलाई महामुर्खको उपाधि दिने काम गरेकोमा आफू निक्कै खुसी भएको बताउनुभयो ।

अर्का प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यले आफूहरूले धेरै पुरस्कार पाए पनि त्यसमा मिथिलाको यो पुरस्कारको विशेष महत्त्व भएको बताउँदै यस्ता कार्यक्रमले हिमाल, पहाड तथा तराई मधेसलाई जोड्ने काम गर्ने बताउनुभयो ।

मिथिला नाट्य कला परिषद्का अध्यक्ष परमेश झाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नंं २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनललाई मूर्ख शिरोमणिको उपाधिले सम्मान गरिएको थियो ।

यसै गरी विभिन्न क्षेत्रमा नाम कमाएका विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभिन्न प्रकारको उपाधि प्रदान गरेर सम्मानित गरिएको थियो । कार्यक्रममा मिथिला नाट्य कला परिषदका तर्फबाट महामूर्ख सम्बन्धी लघु नाटक प्रदर्शन गरिएको थियो । कार्यक्रममा होली सम्बन्धी विभिन्न गीतका साथै कविता वाचन कार्यक्रम सम्पन्न भएका छ ।


ताजा खबर