नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

फरक आनन्द दिने नेपालको साँस्कृतिक पर्व  ‘होली’

वीणा सिन्हा

‘होली’ शब्दमा उमङ्गको अनुभूति हुन्छ । यो नेपालको साँस्कृतिक पर्व हो । फागु, फउवा होली वा होली उमङ्ग, भ्रातृत्व पवित्रा र मेलमिलापको पर्व हुनाले हामीलाई एउटा फरक ढङ्गले आनन्दको अनुभूति दिन्छ ।

होलीका वैदिक साहित्य लिएर श्रीमद् भागवत पुराण आदिमा विशद विवरण पाइन्छ । हाम्रो प्राचीन साहित्यमा यस पर्वको उल्लेख ‘वसन्त महोत्सव’का रूपमा रहेको छ । कतै वसन्त पञ्चमीदेखि त कतै शिवरात्रिदेखि होली मनाउन प्रारम्भ गरिने फागुन पूर्णिमाका दिन पहाडी क्षेत्रमा र तराईमा पूर्णिमाको भोलिपल्ट समापन गर्ने चलन छ ।

नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा विकसित भएको यो पर्वको सामाजिक महŒव विशेष छ । विगतमा मनाइने होलीलाई आजभोलि सामाजिक उत्सवका रूपमा मनाउन थालिएको छ । यस पर्वको विभिन्न पाटो छ । नाच, गान, खानपान र मनोरञ्जनसँगै यो पर्व भेदभाव, छुवाछूत र वर्ण व्यवस्थाको वास्ता नगरी सद्भाव र मेलमिलाप बढाउने पर्व हो ।

पर्वतीय समुदायका लागि मीठो खाने, राम्रो लगाउने र स्वच्छन्द हुने पर्वका रूपमा लिइन्छ । तराईका मानिसमा मीठो खाने र आत्मीयजन लिएर समाजको शत्रु नै किन नहोस्, सबैजनासँग प्रेम र सद्भावले मिल्ने पर्वका रूपमा लिइन्छ । पहाडी क्षेत्रमा मासु परिकार विशेष रूपमा खाइन्छ । तराईमा पुआ (मैदा र चिनीको विशेष पकवान) मालपुआ, तरुवा र मासुजस्ता विशेष परिकार पकाएर सबैलाई खुवाउने गरिन्छ । नयाँ–नयाँ लुगा लगाउँछन् । यो पर्व सामूहिकताको पर्व हो ।

अहिलेको समयमा कामको व्यस्तता र तनावका कारण आनन्दले यस्तो पर्व मनाउने अवस्था छैन । अहिले कोरोनाले होलीको आनन्द र उमङ्गलाई नाशै गरेको छ । होली समूहमा मनाउने पर्व हो तर कोरोना महामारीले यसमा अवरोध ल्याएको छ । घर–आँगन, चोक, चौरमा उत्साहपूर्वक फागुनको फाग, गाउसे, डोल, डम्फु, झाल, बजाउँदै वातावरण रमणीय बनाउँदै मनाइने पर्वमा मानिस घरभित्रै थुनिएर बस्न बाध्य भइएको छ ।

हिन्दु धर्म मान्नेका लागि तीन लोकमा न्यारी महादेवको त्रिशूलमा अवस्थित काशी होली उल्लास, उमङ्ग र मस्तीका रूपमा लिइन्छ । यस्तै मथुरामा कन्हैयाको होली पनि विख्यात छ, जहाँ कन्हैया राधासँग होली खेल्छन् । नेपाली र हिन्दी चलचित्रमा पनि होली प्रसङ्ग लिएर दृश्य र गीत थुप्रै बनेका छन् र लोकप्रिय पनि छन् ।

होली पर्वमा रङ्गको विशेष सम्बन्ध छ । होलीको विविध रङ्गजस्तै जीवन पनि रङ्गीन छ । सृष्टिको आरम्भकालदेखि नै ब्रह्माण्डमा रङ्गको अद्वितीय महŒव छ । रङ्गले दुनियाँलाई रङ्गीन बनाएको छ । इन्द्रेणीको सात रङ्ग– रातो, नीलो, हरियो, पहेँलो, वैजनी, जामुनी र सुन्तला रङ्गले प्रत्येक मान्छे र जीवजन्तुको आ–आफ्नो रुचिअनुसार आकृष्ट गर्छ । होली यही रङ्गको मिलन पर्व हो ।

होली पर्वको परम्परागत ढङ्गले मनाउनका लागि टोल र समुदायका पुरुष, महिला, केटाकेटी भेला भई हार्दिक रूपले वसन्तराग, ख्याली आदि गाउँदै, नाच्दै आपसमा रङ्ग तथा अबिर एक–अर्कोलाई छ्याप्दै रमाइलो वातावरणमा मनाइने गरिन्थ्यो । तर, आज होलीको सांस्कृतिक पक्ष र साङ्गीतिक माधुर्यलाई छाडेर होलीलाई हङ्गामाका रूपमा मनाउन थालेका छन् । विशेषगरी युवा पुस्ताका लागि होली हङ्गामा मच्याउने, डुङ–डुङ गन्हाउनेगरी पिउने, पिलाउने पर्व बनिसकेको छ ।

होलीको नाममा गाँजा, भाङ, चरेशको खुलेआम सेवन गर्ने प्रवृत्ति बढिरहेको छ । मादक पदार्थ सेवन गरेर झै–झगडा गर्ने, जबरजस्ती केटी र महिलालाई अबिर लगाइदिने, फोहोर पानी भरिएका लोलाले जथाभावी हान्ने गरिन्छ । होलीजस्तो सामाजिक पर्व महिलाका लागि प्रताडित र आतङ्कित गर्ने पर्वका रूपमा परिणत भइरहेको छ । फलतः यस्ता गैरसामाजिक र आपराधिक क्रियाकलापका कारणले परिपक्व महिला घरबाट बाहिर निस्कँदैनन् ।

सद्भाव र मेलमिलापको सन्देश बोकेको होली पर्व समाजमा रिस, द्वेष र वैमनस्य बढाउने साधनका रूपमा परिणत भइसकेको छ ।

होलीमा स्वस्थ र केमिकल (रसायन)रहित रङ्ग अबिर छ्यापेर खेल्दा चर्मरोगजस्तो समस्या समाधान हुन्छ भन्ने मान्यता थियो तर आज शुद्ध अबिरको साटो मोबिल, ग्रिजजस्तो हानिकारक केमिकल्स प्रयोग भइरहेको छ । यसले शरीर, आँखा र वातावरण सबैलाई हानि पु¥याउँछ ।

अहिले होलीको व्यवसायीकरण गरेर हाम्रो संस्कृति देखावटी बनाउनका लागि विदेशी अश्लील गीत–सङ्गीतका लयमा नाच्दै, जोगिरा सर..र….र…को मदिरा सर…र…मा रूपान्तरित गरिएको छ ।

सभ्य र सौम्य नाचगानको सट्टामा उच्छृङ्खल उत्तेजक र अश्लील भावभङ्गीमा नाचगान गर्ने बानीको विकासले नेपाली मौलिक संस्कृतिको विनाश गरिरहेको छ ।

सद्भाव र उमङ्गको पर्व होली, होली नै रहोस्, यसलाई विकृति र विसङ्गतिलाई पर धकेलेर आफ्नो संस्कृति जोगाउनका लागि सचेत हुनुपर्छ ।

आज सबैजना घरमा बसी आफ्नै परिवारभित्रै होली मनाउनुहोस् र कोरोनाबाट जोगिनुहोस् । आगामी सालका होली हामी सबैले आफ्नो सभ्य परम्पराअनुसार मनाउँला ।
(लेखक नेपाल प्राज्ञसभा सदस्य हुनुहुन्छ ।)


ताजा खबर