काठमाडौँका नगरप्रमुखद्वारा ॐ अस्पताल खोप केन्द्र अवलोकन

काठमाडौँं महानगरपालिकाका नगरप्रमुख विद्या सुन्दर शाक्यले चावहिल स्थित ॐ अस्पतालमा संचालित खोप केन्द्रको अवलोकन गर्नुभएको छ ।

शुक्रवार अपरान्ह सम्बन्धित वार्डका प्रमुखहरु सहित ॐ अस्पतालमा पुग्नुभएका नगर प्रमुख शाक्यले अस्पतालस्थित खोप केन्द्रमा पुगेर नाम दर्ता देखी भ्याक्सिनेशन तथा अव्जर्भेशन कक्षको अवलोकन गर्नुभएको हो ।

ॐ अस्पतालका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठ, मेडिकल डाइरेक्टर डा. हरिश जोशी र काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले महानगर र ॐ अस्पतालको सहकार्यमा संचालित खोप केन्द्रको ब्यवस्थापन बारे नगरप्रमुख शाक्यलाई जानकारी गराउनु भएको थियो ।

अवलोकनका क्रममा नगरप्रमुख शाक्यले कोभिड बिरुद्धको खोप लगाउन आउनुभएका जेष्ठ नागरिकहरुसँग समेत संक्षिप्त प्रतिकृया लिनुभएको थियो ।

जवाफमा खोप लगाउन आउनुभएका जेष्ठ नागरिकहरुले ॐ अस्पतालस्थित खोप केन्द्रमा आवश्यक पूर्वाधारसँगै परामशर्ष समेतको सुविधाले खोप कार्यक्रम व्यवस्थित रुपमा संचालन भएको र सहज रुपमा खोप लिएको बताउनुभयो ।

ॐ अस्पतालका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले रजिष्ट्रेशन डेस्क देखी परामर्श डेस्क र खोप लगाउने कक्ष तथा अब्जरभेसन कक्ष अत्यन्त बैज्ञानिक ढंगबाट मिलाइएकाले ॐ अस्पतालस्थित खोप केन्द्रमा कम समयमा खोप लगाउन सकिने भएकाले ढुक्क भएर खोप लगाउन समपूर्ण स्थानीयहरुलाई आग्रह गर्नुभयो ।

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा.हरिश जोशीले कोभिड १९ बिरुद्धको विश्वव्यापि लडाईं र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र ॐ अस्पतालको सहकार्यलाई स्वीकार गरी अत्यन्त उत्साहपूर्वक सहभागि हुनुभएकोमा सम्पूर्ण जेष्ठ नागरिकहरुप्रति आभार ब्यक्त गर्दै खोप कार्यक्रम थप केहिदिन निरन्तर रहने बताउनु भएको छ ।

ॐ अस्पताल खोप केन्द्रमा शुक्रवार सम्म ५ हजार जना भन्दा बढी ५६ बर्ष माथिका जेष्ठ नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाइसक्नुभएको अस्पतालले जनाएको छ । –रासस


ताजा खबर