स्थलमार्गबाट हुने निर्यातमा चीनको ‘नाकाबन्दी’

चीनले माघ २९ गतेपछि रसुवागढी नाका बन्द गरेको छ। नाका बन्द भएपछि नेपालबाट स्थलमार्ग हुँदै चीनतर्फ गरिने वस्तु निर्यात ठप्प भएको छ। 

ल्होसारको कारण देखाउँदै बन्द भएको नाका अहिलेसम्म खुलेको छैन। नाका नखुल्दा दुई देशबीचको व्यापार ठप्प छ। नाका बन्द हुनुअघि दैनिक ५/६ वटा कन्टेनर नेपाल भित्रिने गरेकोमा अहिले त्यो पनि बन्द भएको छ। 

‘अहिले यो नाका बन्द छ, अनौपचारिक छलफलमा केही दिनमा जानकारी आउँछ भनिए पनि अहिलेसम्म कुनै जानकारी आएको छैन,’ रसुवागढी भन्सार प्रमुख रामप्रसाद रेग्मीले भने, ‘कहिलेबाट सामान्य रूपमा भन्सार सञ्चालनमा आउँछ भन्न सकिने अवस्था छैन।’ 

चीनतर्फको अर्को व्यापारिक नाका केही दिनयता खुला छ। यस नाकाबाट दैनिक बढीमा १० वटासम्म कन्टेनर आइरहेका छन्। चीनबाट थोरै सामान आए पनि नेपालबाट चीनतर्फ भने कुनै पनि सामान जाने गरेको छैन।  

रसुवागढी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले नाका सामान्य अवस्थामा सञ्चालनमा आउन समय लाग्ने बताए। ‘दैनिब ७०/८० वटा कन्टेनर आउन थालेपछि व्यापार केही सामान्य भयो भन्न सकिन्छ,’ उनले भने, ‘अहिले असाध्यै थोरै सामान आइरहेको छ। व्यवसायीले पनि यो नाका बन्द भइरहने समस्या भोगेका कारण कतिपय सामान भारत हुँदै नेपालमा आयात गरिरहेका छन्।

२०७२ सालको भूकम्पपछि नेपाल र चीनबीचको व्यापार सामान्य अवस्थामा फर्केको छैन। भूकम्पको लामो समयसम्म चीनले तातोपानी नाका सञ्चालनमा ल्याएन भने त्यसको विकल्पको रूपमा रसुवागढीलाई अघि सारियो। भारतीय नाकाबन्दीको समयमा चीनले अनुदानमा दिएको इन्धन रसुवागढी हुँदै नेपाल भित्र्याइएको थियो। 

नेपालबाट चीनमा कफी, हरियो चियालगायतका वस्तु धेरै तिर्यात हुँदै आएको छ। अहिले केही मात्रामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै केही सामान चीन गए पनि स्थलमार्गको तिर्यात भने सामान्य छैन। 

  –रासस

सफलनेपालडटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।


ताजा खबर