सहिद स्मारक लिगमा मध्यपुरको दोस्रो जित

मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मध्यपुर उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। 

मध्यपुरको जितमा कैलाश लामिछाने खत्री र कप्तान धिरज श्रेष्ठले गोल गरे। श्री कुमारी क्लबका लागि आशिष राईले गोल गरे। 

खेलको ४० औं मिनेटमा आशिषले गोल गर्दै श्री कुमारीलाई १–० गोलको अग्रता दिलाए। तर यो अग्रता धेरै बेर टिकेन। ४५ औं मिनेटमा कैलाशले गोल गर्दै मध्यपुरलाई १–१ गोलको बराबरीमा पुर्याए।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको मध्यपुरले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको ४८ औं मिनेटमा धिरजले गोल गर्दै मध्यपुरलाई २–१ गोलको जित दिलाए।

यो जितसँगै मध्यपुरले आठ खेलबाट सात अंक बनाएको छ। पराजित श्री कुमारी क्लबको पनि आठ खेलबाट सात अंक नै छ।


ताजा खबर