राष्ट्रलाई स्वाधीन बनाउने चाहना राख्दा ममाथि हमला भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकासका कामहरू देखेर स्वदेशी तथा विदेशी तत्त्वहरू खपी नसक्नुको अवस्थामा पुगेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफु नेतृत्वको सरकारले राम्रो काम गरेकाले प्रहार खेपिरहेको बताउनुभयो ।

राष्ट्रलाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै  विकास, परिवर्तन र समृद्धिको मार्गमा हिड्याउदा आफू विरुद्ध षडयन्त्र भएको बताउनुभयो ।प्रधानमन्त्री ओलीले राष्ट्रलाई स्वाधीन बनाउने चाहना राख्दा देशभित्र तथा बाहिरका विभिन्न शक्तिहरू आफ्नो विरुद्धमा क्रियाशील रहेको बताउनुभयो । प्रतिक्रियावादीका मतियारहरूले राष्ट्रको विकास नचाहे पनि देशलाई समृद्धशाली बनाउने अभियानको अन्त्य कहिल्यै नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले योजनाबद्ध ढङ्गबाट विकास निर्माणका कामलाई अगाडि बढाएको बताउँदै पछिल्लो तीन वर्षमा जनताले विकासको प्रत्यक्ष अनुभूति हुने गरी काम गरेको दाबी गर्नुभयो ।

उहाँले नेपालमा दैनिक ५.७ कि.मी.का दरले सडक कालोपत्रे भएको तथा मोटरेवल पुलको काम पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण तथा उद्योग धन्दा कलकारखानाको विकास गरी रोजगारी सिर्जना गर्ने काम वर्तमान सरकारले गरिरहेको बताउनुभयो ।

उहाँले शिक्षा,स्वास्थ्य, सडक, खानेपानी देखी तुइन विस्थापित गरी झोलुंगेपुल निर्माण, हवाई, यातायात लगायतका क्षेत्रमा उल्लेखनीय काम भइरहेको दाबी गर्नुभयो ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्नुभएको थियो भने पोखरा रङ्गशालाको अवलोकन तथा निरीक्षण समेत गर्नुभएको थियो ।

यसै बिच गृहमन्त्री रामबहादुर थापा (बादल) ले पार्टी एकतामा योगदान पुर्‍याउन प्रचण्ड–माधव समूहलाई आग्रह गर्नुभएको छ ।

पोखरामा सोमबार आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएर कम्युनिष्ट आन्दोलनलाई मूर्त रूप दिन आग्रह गर्नुभयो ।प्रचण्ड–माधव समूहलाई सच्चिने अन्तिम अवसर भएको भन्दै उहाँले भदौ २६ गते स्थायी कमिटी बैठकले पार्टी एकताको पक्षमा गरेको निर्णयमा फर्किन आग्रह गर्नुभयो । –रासस


ताजा खबर